उदयपुरको नेपाल स्प्रिङ्ग पानी उद्योगमा सिल

सुधारको पर्याप्त अवसर दिँदा समेत अटेर गरेपछि अन्ततः उद्योग सिल गर्न बाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए ।

जेष्ठ ५, २०८३

राकेश नेपाली

Sealed at Nepal Spring Water Industry in Udayapur

What you should know

उदयपुर — उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी गुणस्तरहीन प्रशोधित पिउने पानी उत्पादन गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित नेपाल स्प्रिङ्ग पानी उद्योग सिल गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना नगरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरको संयुक्त टोलीले मंगलबार उद्योग सिल गरेको हो ।

उद्योगबाट उत्पादित पानीको गुणस्तरबारे उपभोक्ताबाट गम्भीर गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उद्योगले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका–२०७४ तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ को खुला उल्लंघन गर्दै सञ्चालन भइरहेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरका प्रमुख निराजन मगरले जानकारी दिए ।

उनका अनुसार उद्योगमा उत्पादन प्रक्रिया मापदण्डअनुसार नभएको, आवश्यक सरसफाइ र गुणस्तर कायम नगरिएको तथा उत्पादित पानीले उपभोक्ताको स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने अवस्था देखिएपछि तत्काल उत्पादन र बिक्री वितरण बन्द गराइएको हो । 'तोकिएको मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न दिइने छैन,' उनले भने ।

अनुगमन टोलीका अनुसार उक्त उद्योगलाई यसअघि पनि पटक–पटक सचेत गराइएको थियो । मापदण्ड सुधार गर्न निर्देशन दिँदै जरिवानासमेत गरिएको भए पनि उद्योग सञ्चालकले बेवास्ता गर्दै आएको पाइएको छ । सुधारको पर्याप्त अवसर दिँदा समेत अटेर गरेपछि अन्ततः उद्योग सिल गर्न बाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए ।

प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा पेय पदार्थ उद्योगमाथि अब थप कडाइका साथ नियमित अनुगमन गरिने जनाएको छ ।

गुणस्तरहीन तथा मापदण्डविपरीत उत्पादन गर्ने उद्योगलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत प्रशासनले दिएको छ । स्थानीय उपभोक्ताले समेत बजारमा बिक्री हुने प्रशोधित पिउने पानीको गुणस्तरमाथि नियमित परीक्षण र निगरानी बढाउन माग गरेका छन् ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully