कोलकाता निवासी ३९ वर्षका परम पाठकको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
विराटनगर — पूर्वी नाका काँकडभिट्टाबाट सोमबार साँझ करिब डेढ करोड मूल्य बराबरको सुनसहित ठूलो परिणाममा विदेशी मुद्रा समेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल काँकडभिट्टा र मेची भन्सारको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको २४ क्यारेट ९९९.९ प्योरिटीको ५ सय ७० ग्राम सुन बरामद गरेको हो । बरामद सुनको बजार मूल्य करिब १ करोड ५५ लाख बढी छ । सशस्त्र प्रहरीले अवैध रुपमा सुन भित्र्याउने कोलकाता निवासी ३९ वर्षका परम पाठकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, उनको साथबाट २० हजार अमेरिकी डलर र ८४ हजार ५ सय ७० भारु समेत बरामद गरिएको छ । बरामद डलरको नेपाली मूल्य करिब २० लाख ६४ हजार रुपैयाँ हुन आउछ ।
प्रहरीले पाठकको साथबाट सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंक तथा सिमकार्ड, मोबाइल फोन र चेकसमेत बरामद गरेको जनाएको छ ।
बरामद सामान र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाले जनाएका छन् ।
