सडकमा ढुङ्गा थुपारेको भन्दै प्राङबुङ निवासी ७२ वर्षीय बिलबहादुर थाम्सुहाङ र उनकी श्रीमती मनिमाया थाम्सुहाङलाई कुटपिट गरेका हुन्।
What you should know
पाँचथर — फिदिमस्थित हिमशिखर गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान सुशिल थाम्सुहाङले शनिबार मध्यराति फालेलुङ ५ का ज्येष्ठ दम्पतीमाथि कुटपिट गरेका छन् ।
सडकमा ढुङ्गा थुपारेको भन्दै प्राङबुङ निवासी ७२ वर्षीय बिलबहादुर थाम्सुहाङ र उनकी श्रीमती मनिमाया थाम्सुहाङलाई कुटपिट गरेका हुन्।
फालेलुङ- ३ मा आयोजित फुटबल प्रतियोगितामा भाग लिएर प्राङवुङस्थित घर फर्किँदै गर्दा घर नजिकै सडकमा ढुङ्गा थुपारेको भेटिएपछि सुतिरहेको अवस्थाका आफूहरुमाथि निर्घात कुटपिट गरेको बिलबहादुरले बताए । सुशिलले ढुङ्गा थुपारेको आरोप लगाएपनि आफूहरु ढुङ्गा बोकेर सडकमा थुपार्न सक्ने अवस्थामा नरहेको र त्यस्तो नगरेको थाम्सुहाङको भनाइ छ । 'मातेर आएको थियो, बाटोमा ढुङ्गा किन थुपारेको भन्दै कुट्न थाल्यो,होइन भन्दा पनि लछार पछार गर्न छोडेन, कुटिरहृयो,’ थाम्सुहाङले भने ।
कुटपिटका कारण बिलबहादुरको गाला, घुँडा र छातीमा चोट लागेको छ । बिलबहादुरको स्वास्थ्य अवस्था केहि जटिल बनेको छ भने मनिमायाको सामान्य छ । दुवै जनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरेको छोरा सुवाष थाम्सुहाङले जानकारी दिए ।
कुटपिट गर्ने सुशिल सम्बन्धले बिलबहादुर र मनिमायाका नाती पर्छन् । घट्नाको जानकारी पाए लगत्तै प्राङवुङ प्रहरी चौकीबाट खटेको टोलीले सुशिललाई नियन्त्रणमा लिएर बृद्व दम्पतीसँगै जिल्ला प्रहरी कार्यालय पठाएको पाँचथरका प्रहरी प्रमूख (डिएसपी) अनिषकुमार कर्णले बताए ।
कुटपिट गर्ने थाम्सुहाङ फिदिमस्थित सशस्त्र प्रहरीको हिमशिखर गुल्ममा दरबन्दी भइ हाल बोर्डर आउट पोष्ट भैंसेमा कार्यरत छन् । सशस्त्र प्रहरी नायव उपरीक्षक चिरञ्जिबी प्रसाईँले थाम्सुहाङ गुल्मकै दरबन्दीमा भइ बोर्डर आउटपोष्टमा खटेको पुष्टि गरे ।
तर, ज्येष्ट नागरिक दम्पतीमाथि कुटपिट गरेको विषयमा आफूलाई जानकारी नआएको उनको भनाइ छ । घट्नाको यथार्थ बुझेर उनीमाथि विभागीय काबाही अगाडी बढाउने पनि प्रसाईँले बताए ।
