बालककी आमा आमा सावित्रा नेम्वाङका अनुसार शिक्षिकाले वान, टु र क, ख लेख्न नजानेको भन्दै ढाडमा बासको भाटाले निर्घात कुटेकी हुन् ।
पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१४ को लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा अध्यापनरत सुमित्रा नेम्वाङले एलकेजीमा अध्ययनरत ५ वर्षीय सेसेफुङ नेम्वाङलाई निर्घात कुटपिट गरेकी हुन् ।
बालककी आमा सावित्रा नेम्वाङका अनुसार शिक्षिकाले वान, टु र क, ख लेख्न नजानेको भन्दै ढाडमा बासको भाटाले निर्घात कुटेकी हुन् ।
शिक्षिकाको कुटाइपश्चात सेसेफुङ बिरामी परेका थिए । ज्वरो आउनुका साथै खानामा रुची नदेखाएपछि फकाएर सोध्दा 'मिसले कुट्नुभयो' भनेपछि कपडा फुकालेर हेर्दा शरीरभरी निलडाम देखें,’ सावित्राले भनिन् ।
छोरा कुटिएको विषयमा कोरियामा रहेका श्रीमान महेन्द्र नेम्वाङलाई सुनाएपछि उनैले नै वडाध्यक्ष राजकुमार नेम्वाङलाई फोन गरेर जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनासाथ बुझ्दा बालकको अवस्था दयनीय देखिएपछि आफैंले स्कुल सञ्चालकलाई अस्पताल लैजान भनेको वडाध्यक्ष नेम्वाङले सुनाए ।
घटनाको ३ दिनपश्चात बालकलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
विद्यालय सञ्चालक संयोग सारु मगरले बालक कुट्ने शिक्षिकालाई निलम्बन गर्नुका साथै उपचार खर्च स्कुल प्रशासनले व्यहोर्ने गरी अविभावकसँग सहमति गरेको बताए ।
शिक्षिकाले कुटेर निलडामले भरिएको बालकको ढाड अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सेयर गरिरहेका छन् । स्कुल प्रशासन र शिक्षिकालाई कानुनी कार्बाही गर्न माग भइरहेको छ ।
