इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

पशु सेवा विभाग हरिहरभवन, ललितपुरकाे वैशाख २९ को बैठकको निर्णयपछि जिल्लामा लगाइएको प्रतिबन्ध हटाइएको हो ।

वैशाख ३१, २०८३

लक्ष्मी गौतम

Restrictions imposed to control bird flu in Ilam lifted

पाँचथर — इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रविन्ध फुकुवा भएको छ । जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसारपसार सम्बन्धी प्रतिबन्ध हटाइएको हो । 

जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको भेटेरेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी दिए ।

केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै पशु सेवा विभाग हरिहरभवन, ललितपुरमा वैशाख २९ मा बसेको बैठकको निर्णयपछि जिल्लामा लगाइएको प्रतिबन्ध हटाइएको जनाएको छ । यसअघि वैशाख ९ को जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा रोक लगाएको थियो ।
समितिले प्रतिबन्ध हटाए पनि बर्ड फ्लु रोग पूर्णरूपमा नियन्त्रणमा राख्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । संक्रमित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसार नगर्न, अन्य क्षेत्रबाट ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था कायम राखिएको छ ।

कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म प्रवेशअघि निःसंक्रमण गर्न, फुटबाथको प्रयोग गर्न तथा फार्मभित्र जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह समितिको आग्रह छ ।

यस्तै, मरेका कुखुरा सुरक्षित तरिकाले व्यवस्थापन गर्न, फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउन तथा ठूलो संख्यामा कुखुरा बिरामी वा मरेको अवस्थामा नजिकको पशु सेवा कार्यालय वा भेटेरिनरी अस्पताललाई तत्काल जानकारी गराउन पनि समितिले अनुरोध गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully