साढे ५ हजार विद्यार्थीको मुटु परीक्षण, ३० जनामा गम्भीर समस्या

मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको नेतृत्वमा १८ सदस्यीय चिकित्सक टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो।

वैशाख ३०, २०८३

दीपेन्द्र शाक्य

Heart tests of 5,500 students, 30 have serious problems

संखुवासभा —  

नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुरको प्राविधिक सहयोग तथा हृदय रोग शाखा संखुवासभाको आयोजनामा खाँदवारी नगरपालिकाका विभिन्न विद्यालयमा मुटुरोग परीक्षण शिविर सञ्चालन गरिएको छ । 

बुधबार खाँदवारी नगरपालिका १, ३, ८ र ९ अन्तर्गत रहेका ६ वटा माध्यमिक विद्यालयका करिब ५ हजार ५ सय विद्यार्थीहरूको मुटु परीक्षण गरिएको हृदय रोग शाखा संखुवासभाका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार हिमालय माध्यमिक विद्यालय,बागिश्वरी माध्यमिक विद्यालय,आदर्श विद्यामन्दिर,महेन्द्र माध्यमिक विद्यालय,आदर्श माध्यमिक विद्यालय र जालपमा माध्यमिक विद्यालयका विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।  

शिविरमा मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको नेतृत्वमा १८ सदस्यीय चिकित्सक टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो। परीक्षणका क्रममा विद्यार्थीहरूको मुटुको अवस्था, धड्कन, रक्तचाप लगायत विभिन्न पक्षको जाँच गरिएको थियो।

परीक्षण गरिएका विद्यार्थीमध्ये ३० जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएको अध्यक्ष बज्राचार्यले बताए । ती विद्यार्थीको थप तथा आवश्यक उपचार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क गरिने तयारी गरिएको छ।

दुर्गम क्षेत्रमा रहेका बालबालिकालाई समयमै स्वास्थ्य सेवा पहुँच गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरलाई स्थानीय अभिभावक, शिक्षक तथा समुदायले सकारात्मक रूपमा लिएको उनले बताए । 'विद्यालयस्तरमै स्वास्थ्य परीक्षण हुँदा प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न सहज भएको छ,' उनले भने, 'आगामी दिनमा पनि जिल्लाका अन्य विद्यालय तथा दुर्गम बस्तीमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जानेछौं ।' 

दीपेन्द्र

Link copied successfully