नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ।
What you should know
संखुवासभा — संखुवासभाको दुर्गम भोटखोला क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण गरिएको छ । खाँदबारी–किमाथांका सडकखण्ड अन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ।
आयोजना प्रमुख प्रमुख सेनानी सम्सेरबहादुर सिंहले उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख रामबहादुर गुरुङलाई सडक हस्तान्तरण गर्दै कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीबीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताए । उनका अनुसार २०७६ भदौ २२ गते मन्त्रिपरिषद्को निर्णयपछि संखुवासभाको भोटखोला गाउँपालिका–२ च्याम्ताङदेखि वडा नं. १ घोङ्गप्पासम्म सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो ।
प्रारम्भिक रूपमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि निर्माणका क्रममा एलाइनमेन्ट परिवर्तन भएपछि अन्तिम सर्वेक्षणमा सडकको कुल लम्बाई १० दशमलव ८१ किलोमिटर कायम भएको उनले जानकारी दिए । ‘भौगोलिक विकटता, कडा चट्टानयुक्त भू–बनावट र कठिनाइकाबीच नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गरेको छ,’ उनले भने, ‘यस सडक निर्माणका लागि नेपाली सेनाको टोली २०७७ माघ २४ र २५ गते तुम्लिङटारबाट हेलिकप्टरमार्फत् च्याम्ताङ पुगेर तैनाथ भएको थियो ।’
त्यसपछि फागुन २ गते छुम्सुर क्षेत्रमा थप टोली परिचालन गरिएको थियो । सेनाले २०७७ फागुन १४ गतेदेखि ट्र्याक खोल्ने काम सुरु गरेको र २०८२ चैत ३० गते निर्माण सम्पन्न गरेको जनाएको छ ।
प्रमुख सेनानी सिंहका अनुसार सडक निर्माण सम्पन्न भएसँगै भोटखोला क्षेत्रको आर्थिक, सामाजिक तथा व्यापारिक गतिविधिमा उल्लेखनीय परिवर्तन आउने आशा गरिएको छ । ‘स्थानीय बजार सक्रिय हुनेछ, यातायात पहुँच विस्तार हुनेछ र कोशी प्रदेशको आर्थिक विकासमा यो सडकले दीर्घकालीन योगदान पुर्याउने छ’, उनले विश्वास व्यक्त गरे ।
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले किमाथांका–खाँदबारी सडक सञ्जाल जोडिनु कोशी प्रदेशकै लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनले नेपाली सेनाले अत्यन्तै कठिन भूगोलमा जोखिम मोलेर सडक निर्माण गरेको भन्दै प्रशंसा गरे । ‘सामान्य अवस्थामा सडक निर्माण असम्भवजस्तै मानिन्थ्यो,’ उनले भने, ‘त्यहाँ सेनाले चट्टान फोडेर बाटो बनाएको छ ।’
भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा तेन्जिङ भोटेले सडक सञ्चालनमा आएपछि स्थानीयवासीको जीवनशैली नै परिवर्तन हुन थालेको बताए । ‘पहिले सदरमुकाम पुग्न दिनहुँ हिँड्नुपर्थ्यो, अहिले साना सवारी साधनमार्फत सहज रूपमा आउजाउ गर्न सकिने भएको छ,’ उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य, व्यापार तथा आपतकालीन सेवामा स्थानीयलाई ठूलो राहत दिएको छ ।’
उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख रामबहादुर गुरुडले नेपाली सेनाले जिम्मा लिएर सम्पन्न गरेको सडक ग्रहण गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । उनले आगामी दिनमा सडक स्तरोन्नति र नियमित मर्मतमार्फत यसलाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाइने बताए ।
नेपाल–चीन सीमासम्म जोडिने रणनीतिक महत्त्वको यो सडक निर्माण सम्पन्न भएसँगै संखुवासभाको उत्तरी क्षेत्र अब राष्ट्रिय सडक सञ्जालसँग थप मजबुत रूपमा जोडिएको छ । यसले सीमावर्ती क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र राज्यको पहुँच अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयले अपेक्षा गरेका छन् ।
