मेची आँखा अस्पतालकी डाक्टर विनिता थापाले फुङलिङ र दोभानमा सञ्चालन भएको शिविरमा पाँच दिनमा १३२ जनाको आँखाको सफल शल्यक्रिया गरिन्।
What you should know
ताप्लेजुङ — झापाबाट ताप्लेजुङ पुगेर मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले पाँच दिनमा १ सय ३२ जनाको आँखाको शल्यक्रिया गरेकी छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ र मेरिङदेन गाउँपालिका ३ खाम्लुङ दोभानमा उनले पाँच दिनसम्म आँखाको शल्यक्रिया गरेकी हुन् । तीन घण्टाको अन्तरमा रहेको शिविरमा एक दिन मात्रै खाली राखिएको थियो । शल्यक्रियाको पट्टी खोल्दा र परीक्षण गर्दा समेत भने उनले सात दिन व्यतित गरिन् ।
नेपाल नेत्र ज्योति संघ ताप्लेजुङको आयोजना तथा सेवा फाउण्डेसन र दोभानमा मेरिङदेन गाउँपालिकाको आर्थिक सहयोगमा वैशाख २१ र २२ तथा सदरमुकाम फुङलिङमा २४ देखि २६ सम्म शिविर सञ्चालन गरिएको थियो । यसको प्राविधिक सहयोग मेची आँखा अस्पतालले गरेको हो ।
जसको चिकित्सकीय नेतृत्व डाक्टर विनिताले गरेकी थिइन् । शिविरमा सहयोगी, स्वास्थ्यकर्मी समेत गरी १३ जनाको टोली खटिएको थियो । ‘डाक्टरको काम शल्यक्रिया गर्ने र त्यसको भोलिपल्ट पट्टी खोलेर कस्तो भयो हेर्ने र आवश्यक परामर्श दिने हुन्छ,’ नेपाल नेत्रज्योति संघ ताप्लेजुङका क्लिनिक इन्चार्ज काजी गुरुङले भने, ‘शल्यक्रिया गरिएका सबैको राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।’
पट्टी खोलेपछि घर पठाइने शल्यक्रिया गरिएकालाई सातदेखि १५ दिन भित्रमा पुनः परिक्षणकालागि बोलाउने गरिएको गुरुङले बताए । त्यसरी फलोअप गर्नुपर्नेले भने सदरमुकाम फुङलिङ वा दोभान उपचार केन्द्रमा आउनु पर्छ । कोही अशक्त भए प्राविधिक टोलीले घरमा गएर पनि परिक्षण गर्ने गरेको गुरुङले बताए ।
नि:शुल्क शिविरमा औषधि, चस्मालगायतका सामग्री समेत नि:शुल्क वितरण गरिएको संघका ताप्लेजुङ सभापति राजकुमार गुरुङले जानकारी दिए ।
यसपटक सञ्चालित शिविरमा सदरमुकाम फुङलिङमा ७३ र दोभानमा ५९ जनाको शल्यक्रिया गरिएको संघले जनाएको छ । सदरमुकाममा ६० जनाको मोतिबिन्दु र १३ जनाको लघु शल्यक्रिया गरिएको छ । सदरमुकाममा ५ सय ९१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । दोभानमा ४३ जनाको मोतिबिन्दु र १६ जनाको साधारण शल्यक्रिया गरिएको मेची आँखा अस्पतालका कार्यक्रम निर्देशक कविता कार्की कडरियाले जानकारी दिइन् ।
सदरमुकाममा तीन दिनमा ५ सय ९१ र दोभानमा दुई दिनमा ५ सय ४० जनाले आँखा परीक्षण गराएको फिल्ड आईवर्कर काजी थेवेले जानकारी दिए । संघले कम्तीमा वर्षमा दुईपटक यस्तो शिविर संचालन गर्दै आएको छ । वार्षिक कार्यतालिका अनुसार फागुनमा गर्नुपर्ने शिविर प्रतिनिधिसभा निर्वाचनका कारण वैशाखमा गर्नुपरेको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।
