सडक सुरक्षाका लागि ‘शुभयात्रा’ अभियान

जिल्ला ट्राफिक कार्यालय उदयपुरसँगको समन्वयमा सडक सुरक्षा अभियानकर्मीहरुले चालक तथा यात्रुहरुलाई शुभयात्रा भनेर दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश दिने र सतर्क गराउने गरेको अभियानकर्मी रमा मगरले बताइन् ।

वैशाख २५, २०८३

भोटराज राई

'Shubha Yatra' campaign for road safety

उदयपुर — उदयपुरमा सडक सुरक्षाका लागि ‘शुभयात्रा’ अभियान थालिएको छ । मदन भण्डारी राजमार्गको उदयपुरखण्डमा अत्याधिक दुर्घटना भई धनजनमा क्षति पुगेपछि यस्तो अभियान थालिएको हो ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरसँगको समन्वयमा सडक सुरक्षा अभियानकर्मीहरुले चालक तथा यात्रुहरुलाई शुभयात्रा भनेर दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश दिने र सतर्क गराउने गरेको अभियानकर्मी रमा मगरले बताइन् । 

देशैभर फैलाउने उद्देश्यसहित थालिएको यो अभियान अहिले सबैभन्दा बढी दुर्घटना हुनेस्थल उदयपुरको उदयपुरगढी गाउँपालिका –७ अँधेरी आसपासमा भइरहेको छ । पश्चिमदेखि पूर्वतर्फ जाँदा अँधेरीदेखि जोगिटोलसम्मको तीन किलोमिटर सडक ओरालो, अत्यधिक घुम्ति र चिल्लो  छ । त्यहाँ सबैभन्दा बढी दुर्घटना भएको तथ्यांक छ । सो ठाउँलाई ट्राफिक प्रहरीले “ब्ल्याक स्पोर्ट” भनेको छ । अहिले थालिएको अभियानले दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना फैलाएको अभियानमा खटिरहेका ट्राफिक प्रहरी हवल्दार निश्चल सुवेदीले बताए । 

मदनभण्डारी राजमार्ग सञ्चालनयता गत तीन आर्थिक वर्षमा उदयपुरमा मात्र ८७६ वटा दुर्घटनामा ११८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ७३९ जना घाइते भएका छन् । सानातथा ठूला, दुईपांग्रेदेखि चारपांग्रेसम्मका सवारी दुर्घटनामा परेका छन् । आव. २०८०/०८१ मा दुईसय तीन वटा दुर्घटना हुँदा ४५ जनाले ज्यान गुमाए भने ४३६ जना घाइते बनेका थिए । 

२०८१/०८२ मा तीनसय वटा दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ६३२ जना घाइते भए । यस्तै  २०८२/०८३ मा ३७३ दुर्घटना हुँदा ३७ जनाको मृत्यु भयो भने ६७१ जना घाइते भए । 

‘दुर्घटनाको संख्या अत्यधिक भएकाले सतर्कता अपनाउन र सचेतना फैलाउन जरुरी ठानिएको हो,’ अभियानकर्ता मगरले भनिन् । अभियानलाई सडक सरोकारवाला सबैको साझा बनाउने कोशिस गरिएको छ । अभियान सुरुसँगै स्थानीयहरु पनि जुटेका भने चालक तथा यात्रुहरुले खुसी व्यक्त गरेका छन् ।

काठमाडौंदेखि घरसम्मको यात्रामा रहेका दमकका चालक धिरेन्द्र राईले यो अभियानले सडक यात्रामा सुरक्षित महशुस गराएको बताए । ‘हाम्रो लागि यत्ति राम्रो सोचेर थालेको अभियानले हामीलाई सतर्क हुन र लापरबाही हुन नदिने कुरामा प्रेरित गरेको छ,’ उनले भने । 

दुर्घटनाको कारण चालक लापरबाही मात्र नभएर सडकको अवस्था पनि रहेको ठहर गरिएको छ । अत्यधिक घुम्ती हुनु, उकालो–ओरोलोको सन्तुलन नमिलाउनुले नयाँ चालक अत्यधिक मात्रामा दुर्घटनामा पर्ने गरेको पाइएको छ । सडक तथा मोड सुधारका लागि स्थानीय प्रशासन, स्थानीयतहहरुले सरकारसँग पहल गरिरहेको छ । वर्षौं बित्यो सुनुवाइ नहुँदा दुर्घटनाको संख्या र धनजनको क्षति थपिँदै गएको छ । अहिलेको अभियानमार्फत पनि सरकारले यहाँको दुर्घटना समस्या सुनुवाइ गरिदिनुपर्ने अपेक्षा स्थानीयहरुको छ ।

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully