हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित सुकुमवासीलाई घर निर्माण गरिदिने

काठमाडौंका विभिन्न सुकुमवासी क्षेत्रबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरबासीले गाउँमै घर बनाउन चाहेमा त्यसका लागि सहयोग गर्ने भएको हो ।

वैशाख २४, २०८३

डम्बरसिं राई

Halesi Tuwachung Municipality to build houses for displaced squatter residents

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंबाट विस्थापित भएका नगरबासीलाई घर निर्माण गरिदिने भएको छ । काठमाडौंका विभिन्न सुकुमवासी क्षेत्रबाट विस्थापित भएका हलेसी तुवाचुङ नगरबासीले गाउँमै घर बनाउन चाहेमा त्यसका लागि सहयोग गर्ने भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका अनुसार काठमाडौंको विभिन्न सुकुमवासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएकाहरु गाउँमै आएर बस्न चाहने तर घर नभएका नगरबासीलाई घर निर्माण गरिदिने भएको हो । बुधबारको नगर कार्यपालिकाको बैठकले बढीमा ५ लाखसम्म घर निर्माणमा सहयोग गर्ने निर्णय गरिएको राईले सुनाइन् ।

‘काठमाडौंका सुकुमवासी बस्तीबाट विस्थापित भएका हाम्रो नगरका बासिन्दाहरुले गाउँमै बस्न चाहनु भयो र घर छैन भने उहाँहरूलाई ५ लाखसम्मको घर निर्माणमा सहयोग गर्ने निर्णय भएको छ,’ राईले भनिन्, ‘त्यसमा थपेर त्यो भन्दा बढी लगानीको घर बनाउन चाहनु भयो भने नगरले ५ लाख रूपैयाँसम्म दिन्छ ।’

विस्थापितको पहिचान गर्न नगर उपप्रमुख रमेश राउतको संयोजकत्वमा नगर प्रवक्ता कमल गिरी र नगरका कर्मचारी सुनिल रिजाल सम्मिलित समिति समेत निर्माण गरिएको छ । उक्त समितिले गाउँमै बस्न चाहने विस्थापितलाई आवेदन दिन आव्हान गर्ने र आवेदन दिनेहरूमध्येबाट वास्तविक विस्थापित छनोट गरी उनीहरूलाई घर निर्माणमा सहयोग गरिने उपप्रमुख रमेश राउतले बताए । 

यसअघि पनि घरविहीन ३ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएकाले त्यसै मापदण्डको आधारमा विस्थापित सुकुमवासीलाई पनि घर निर्माण गरिदिने नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । ‘यसअघि पनि घरविहीन ३ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ,’ गिरीले भने, ‘त्यसै मापदण्डको आधारमा विस्थापित सुकुमवासीलाई पनि घर निर्माण गरिदिन्छौं ।’  

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully