कबाड बनाइयो करोडौंका सरकारी गाडी

जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माका अनुसार लिलाम बिक्रीको झन्झटिलो प्रक्रियाका कारण सवारी साधन लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएका हुन् ।

वैशाख २३, २०८३

राकेश नेपाली

Government vehicles worth crores were turned into junk

What you should know

उदयपुर — जिल्लाका विभिन्न सरकारी कार्यालयमा रहेका करोडौं मूल्यका सवारीसाधन लामो समयदेखि कार्यालयमा थन्किएका छन् । समयमा लिलामी नगर्ने सरकारी परिपाटीको सिकार बनेका ती साधन कबाडीमा परिणत भएका हुन् । 

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा दुईवटा गाडी र एक दर्जन मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन् । जनप्रतिनिधि र कर्मचारीका लागि खरिद गरिएका ती सवारी साधन बिग्रिएर थन्किएको लामो समय भएकाले कबाडमा परिणत भएका छन् । कर्मचारीहरू पुराना सवारीसाधन मर्मत नगर्ने र नयाँ प्रयोग गर्ने प्रवृत्तिले सवारी साधन कबाडमा परिणत हुँदै गएका हुन् ।

हाल जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेका जापानी मित्सुबिसी पजेरो र हुन्डाई कम्पनीका गाडीसहित विभिन्न कम्पनीका एक दर्जन मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन् । ‘स१ज २६८’ नम्बरको मित्सुबिसी जिप तत्कालीन जिल्ला पञ्चायत सभापति भक्तबहादुर सिंह ठकुरीले २०४४ मा ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए । २०६८ सालसम्म सञ्चालनमै रहेको यो गाडी मर्मत गर्दा चल्ने अवस्थामा भएको भए पनि जिल्ला समन्वय समितिका पूर्वप्रमुख खड्ग दर्नालले हुन्डाई टेराकन गाडी प्रयोग गर्न थालेका थिए । 

हुण्डाई टेराकन गाडी बिग्रिएपछि जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा अहिले भन्सार लिलामीबाट खरिद गरिएको प्रदेश १–००५ झ ००२ नम्बरको महेन्द्राको बोलेरो प्रयोग गर्छन् । अवैध रूपमा भित्रिएको उक्त जिप भन्सारले लिलामीमा बेचेको थियो । २०७८ सालदेखि प्रयोगविहीन रहेको हुन्डाई समेत मर्मत गर्दा चल्ने अवस्थामा भए पनि कबाडसरह थन्काएर राखिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख विश्वकर्माका अनुसार लिलाम बिक्रीको झन्झटिलो प्रक्रियाका कारण सवारी साधनहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । ‘कानुनी जटिलताका कारण राज्यका लाखौं मूल्य बराबरका सवारीसाधन कबाडमा परिणत हुने अवस्थामा छन्,’ उनले भने, ‘सरकारले लिलामी प्रक्रिया सहज बनाउनु आवश्यक छ, नत्र मर्मतका लागि बजेट दिनुपर्‍यो ।’

तत्कालीन जिल्ला शिक्षा कार्यालयका प्रमुखले चढ्दै आएको हुलास मुस्ताङ म्याक्स कम्पनीको बोलेरोसमेत एक दशकदेखि प्रयोगविहीन अवस्थामा छ । राज्यको पुनःसंरचनापछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहले पाएपछि शिक्षा विकास तथा समन्वय इकाइमा परिणत भएको यस कार्यालयको परिसरमा हुलास मुस्ताङको बोलेरोसहित आधा दर्जन मोटरसाइकलसमेत लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । मर्मतका लागि धेरै खर्च लाग्ने भएको र राज्यले मर्मत खर्च नदिएका कारण सवारी साधन थन्किएको इकाइ प्रमुख भवानी कट्टेलले बताए । Government vehicles worth crores were turned into junk

जिल्ला अस्पतालको परिसरमा ईसूजू कम्पनीको पिकअप भ्यान लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । डिभिजन वन कार्यालय, गाईघाट, गाईघाट दिक्तेल सडक आयोजना, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयमा समेत लामो समयदेखि सवारी साधन प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।

लागूपदार्थ ओसारपसारमा प्रयोग गरिएका, विभिन्न आपराधिक गतिविधिमा प्रयोग गरिएका, चोरीका सवारी साधान र दुर्घटनामा संलग्न सवारी साधन जिल्ला प्रहरी कार्यालयमा थुप्रिएका छन् । लिलाम गर्न मुद्दाको फैसला पर्खनुपर्ने बाध्यताका कारण थुप्रै सवारी साधन कबाड भइसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले बताए । 

थन्काइएका सवारी साधन धेरैजसो खिया लागेको र महत्त्वपूर्ण पाटपुर्जा चोरी हुने गरेको पाइएको छ । अन्य मोटरसाइकल वा गाडीमा काम लाग्ने पाटपुर्जा झिकिएको पाइएकाले कार्यालयहरूको गम्भीर लापरबाही तथा कर्मचारीको समेत मिलेमतो हुन सक्ने आशंका नागरिकले गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी उदयपुरका सवारी साधनसमेत कबाडको अवस्थामा छन् । महेन्द्रा कम्पनीको एम्बुलेन्ससहित आधा दर्जन बढी मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन् । नेपाल रेडक्रस सोसाइटीले उदयपुर शाखालाई दिएको महेन्द्रा कम्पनीको बाग्मती प्रदेश ०१–०२७ च ६७३५ नम्बरको स्कार्पियो सहित आधा दर्जन मोटरसाइकलको समेत दुरुपयोग हुने गरेको संस्थाका पूर्वसभापति मदनराज कटुवालले बताए ।

वर्तमान सभापति, मन्त्री, सदस्य तथा कार्यालयका कर्मचारीले कार्यालयको कामभन्दा बाहेक अनावश्यक काममा सवारी साधनको दुरुपयोग गर्ने गरेको उनले बताए । व्यक्तिगत घुमघाम, राजनीतिक दलका कार्यक्रमलगायतमा सवारी साधनको प्रयोग हुने गरेको आरोप उनले लगाए । 

रेडक्रस उदयपुरका सभापति शम्भु पौडेलले भने कार्यालयकै कामकाज र राहत वितरणका क्रममा सवारी साधन प्रयोग गर्ने गरिएको बताए । उनले आफूले चढ्दै आएको महेन्द्राको स्कार्पियो चौदण्डीगढी नगरपालिकाको गाडी पार्किङमा राख्ने गरेको र संस्थाका कार्यालय सचिव, सह–कोषाध्यक्ष, मन्त्री र उप–मन्त्रीले भने मोटरसाइकल प्रयोग गर्ने गरेको बताए । एम्बुलेन्स भने केन्द्रीय कार्यालयकै नाममा रहेको र मर्मत नगरिदिएका कारण कबाड बनेको उनले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully