सरकारले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीतिअनुसार हेदाङ्नागढीमा पनि कार्यालय स्थापना गरिएको हो।
संखुवासभा — मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीय बासिन्दामा खुसी छाएको छ। अब संखुवासभाका भोटखोला र मकालु गाउँपालिकाका नागरिकले सामान्य प्रशासनिक सेवा लिनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
यसअघि नागरिकता, सिफारिस, बसोबास प्रमाणपत्र लगायतका अत्यावश्यक कागजातका लागि दिनहुँ लगाएर सदरमुकाम पुग्नुपर्ने अवस्था थियो। तर अब आफ्नै क्षेत्रमै सेवा उपलब्ध हुन थालेपछि समय, खर्च र श्रमको बचत भएको स्थानीयको भनाइ छ।
स्थानीय बासिन्दा राईमान राईका अनुसार, पहिले सानो कामका लागि पनि सदरमुकाम जानुपर्थ्यो, अहिले आफ्नै घर नजिकै सेवा पाइने भएकाले धेरै सहज भएको छ।
सरकारले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीतिअनुसार हेदाङ्नागढीमा पनि कार्यालय स्थापना गरिएको हो। इलाका प्रशासन कार्यालयका प्रमुख जुनकुमार राईले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
११ पुस २०८२ मा मन्त्रिपरिषद्ले उक्त कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार हाल कार्यालय सञ्चालनमा आएको हो। कार्यालयको उद्घाटन प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की, प्रदेशसभा सदस्य राजेन्द्र कार्की तथा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सोमबार संयुक्त रूपमा गरेका थिए।
हेदाङ्नागढीमा प्रशासनिक सेवा विस्तारसँगै स्थानीय तहमा विकासको नयाँ सम्भावना देखिएको मकालु गाउँपालिकाका अध्यक्ष वाड्दी शेर्पाले बताए । उनले सरकारी सेवा अब गाउँमै पुग्न थालेपछि नागरिकको राज्यप्रतिको पहुँच अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
