शिक्षक नियुक्ति गर्दा रकम लिएको खुलासा

चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित शिव माविका प्रधानाध्यापक देवनारायण चौधरीले भने शिक्षक छनोटका बेला परीक्षा संचालन खर्चका रूपमा रकम लिएको दाबी ।

वैशाख २०, २०८३

राकेश नेपाली

Disclosure of money taken while appointing teachers

What you should know

उदयपुर — शिक्षक नियुक्ति गर्दा उदयपुरको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षले मोटो रकम लिएको पाइएको छ । 

चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित शिव माविका प्रधानाध्यापक देवनारायण चौधरी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्पना कार्कीले शिक्षक नियुक्ति गर्दा घुसवापत ५५ हजार र एक महिनाको तलब ४३ हजार गरी ९८ हजार रुपैयाँ लिएको तथ्य फेला परेको छ । मावि तहको संघीय शिक्षण सिकाइ अनुदान करार कोटाअन्तर्गत विज्ञान विषयको शिक्षक नियुक्ति गर्दा राजगढ गाउँपालिका–४ सप्तरीका सन्तोषकुमार शाहसँग मोटो रकम लिएको पाइएको हो ।

२०८१ भदौ २ गते ४३ हजार ६ सय ८९ रुपैयाँ मासिक पारिश्रमिक पाउने गरी नियुक्ति पाएका शाहले सुरुमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीलाई ५५ हजार अनलाइनमार्फत बुझाएको र पछि आफूले पाउनुपर्ने एक महिनाको तलबसमेत कट्टा गरेको ती शिक्षकले बताए । विद्यालयले २०८१ साउन १७ गते मावि विज्ञान शिक्षक नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

‘तपाईं नियुक्त हुने लगभग कन्फर्म हो तर अलिकति खर्च लाग्ने भयो भनेर विद्यालय व्यवस्थापन समिति अध्यक्षज्यूले भन्नुभयो, बेरोजगारीले छट्पटिरहेका बेला जागिर पाइन्छ भने यति भए नि दिन्छु भनेर अनलाइन भुक्तानी गर्दिएको हुँ,’ शिक्षक शाहले भने ।

यता, प्रधानाध्यापक देवनारायण चौधरीले भने शिक्षक छनोटका बेला परीक्षा संचालन खर्चका रूपमा केही रकम लिइएको बताए । ‘दिनैपर्छ भनेर उहाँलाई बाध्य पारिएको थिएन, परीक्षा संचालनका बेलामा हुने खर्च स्वरूप भनेर उहाँले केही रकम उपलब्ध गराउनुभएको हो,’ उनले भने, ‘हाल उहाँ विद्यालयको सेवामा हुनुहुन्न, राजिनामा दिइसक्नुभयो ।’

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully