बारापोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको शनिबार दिउँसो २ बजेतिर ढकाले खोलाको भिरबाट खसेर मृत्यु भएको हो ।
खोटाङ — भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । बारापोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको शनिबार दिउँसो २ बजेतिर ढकाले खोलाको भिरबाट खसेर मृत्यु भएको हो ।
वडाध्यक्ष फौदराज राईका अनुसार दिउँसो घाँस दाउरामा गएको बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल झरेका हुन् । सुरुमा बमबहादुर राई लडेको र उसले समात्ने क्रममा मनकुमार राईलाई समेत तानेर झारेको हुन सक्ने राईले सुनाए ।
उनीहरूको शव घटनास्थलमै छ ।
हुक्नाजोर प्रहरी चौकीका हवल्दार धीरेन्द्र कैवारको टोली घटनास्थल पुगेको छ भने चिसापानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय लामिछाने पनि घटनास्थलमा आउँदै गरेको वडाध्यक्ष राईले जनाएका छन् । कसरी घटना भयो भन्नेबारे अनुसन्धानपछि मात्र जानकारी आउने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु विष्टले बताए ।
