विवादपछि यलम्बरको सालिक अनावरण स्थगित

शान्ति सुरक्षा दिन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्थगित गराएको हो ।

वैशाख १६, २०८३

डम्बरसिं राई

Unveiling of Yalambar statue postponed after controversy

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक अनावरण स्थगित गरिएको छ । 

शान्ति सुरक्षा दिन नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्थगित गराएको हो । नगरपालिका र बुइपा वडा कार्यालयले छुट्टाछुट्टै मितिमा फरक–फरक व्यक्तिबाट सालिक अनावरण गराउने कार्यक्रम तय गरेपछि विवाद हुँदा शान्ति सुरक्षा दिन नसकिने भन्दै कार्यक्रम स्थगित गर्नु परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताएकी छन् । 

वडा कार्यालयको आयोजनामा वैशाख १८ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबाट सालिक अनावरण गर्ने भन्दै बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख ९ गते पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । त्यसको ३ दिनपछि वैशाख १२ गते नगरपालिकाले पनि पत्रकार सम्मेलनमार्फत कोशी प्रदेश पर्यटन वन तथा वातावरणमन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट वैशाख १७ गते संयुक्त रूपमा उद्घाटन गर्ने जानकारी गराएपछि विवाद सुरु भएको हो ।

विवादपछि वैशाख १३ गते प्रमुख जिल्ला अधिकारी कँडेलको समन्वयमा छलफल भएको थियो । त्यतिखेर सालिक अनावरण कार्यक्रमको आयोजक नगरपालिका र मुन्दुमविद्, ज्येष्ठ नागरिक, सालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने सहमति भए पनि कार्यान्वयन नभएपछि नगरपालिकाले १७ गते र वडाले १८ गते नै अनावरण गर्ने अडान लिँदै आएका थिए । 

बुधबार बिहान जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा भएको प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वदलीय, सर्वपक्षीय बैठकले नगरपालिका र वडाले आयोजना गरेको दुवै दिनको अनावरण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि उक्त सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णयलाई नगरकार्यपालिकाको बैठकले अनुमोदन गरी जिल्ला प्रशासन कार्यालय खोटाङलाई अनुरोध गरेको थियो । त्यसैको आधारमा शान्ति सुरक्षा समितिको बैठकले अनावरण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कँडेलले बताएकी छन् । 'विवाद मिलाउने प्रयास गर्दा गर्दै पनि मिल्न सकेन, यस्तो अवस्थामा शान्ति सुरक्षा दिन नसकिने भएकोले स्थगित गराइयो,’ कँडेलले भनिन् ।

सालिक कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत लागत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको बजेटमा निर्माण भएको हो । उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार चार सय ४१ रूपैयाँमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ गते सम्झौता गरेको थियो । तर डिजाइनका कारण बेलैमा काम नसकिँदा पटकपटक म्याद थपिँदै आएको थियो । गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको नगरपालिकाले जनाएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गत जेठ १८ गते उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अवरोध गरेका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully