गुणस्तरहीन सामग्री प्रयोग भएको निर्माणाधीन भवनको पर्खाल भत्काइयो

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार भवनमा लगाइएको इँटा गुणस्तरहीन भएकाले भत्काइएको हो ।

वैशाख १६, २०८३

डम्बरसिं राई

The wall of an under-construction building made of substandard materials was demolished.

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको निर्माणाधीन प्रशासनिक भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै भत्काइएको छ । नगरपालिकाको प्राविधिक, नगरप्रहरी, कर्मचारीलगायतको टोलीले मंगलबार भत्काएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार भवनमा लगाइएको इँटा गुणस्तरहीन भएकाले भत्काइएको हो । उक्त भवन निर्माणको ठेक्का आकाश निर्माण सेवा सिन्धुपाल्चौकले लिएको थियो । सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा ५ करोड ८७ लाख १८ एक सय ३० रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०८२ मंसिर १३ गते सम्झौता भएको थियो । 

आर्थिक मितव्ययितासहित गुणस्तरीय काम गराउने सन्दर्भमा प्राविधिकसहितको निरीक्षण टोलीले अनुगमन गर्ने क्रममा भवनको दोस्रो तलाको काम गुणस्तरहीन पाइएको भत्काइएको गिरीले बताए । ‘आर्थिक मितव्ययितासहितको गुणस्तरीय काम गराउने अभियानमा छौं,’ गिरीले भने, ‘यस सन्दर्भमा प्राविधिक सहितको निरीक्षण टोलीले अनुगमन गर्ने क्रममा गुणस्तरीन पाइएकाले भत्काइएको हो ।’

निर्माणमा सम्बद्ध सोम थिङले केही इँटा मिसिएर आएकाले काम गर्ने सिलसिलामा प्रयोग भएको स्वीकारेका छन् । तर गुणस्तरहीन इँटा प्रयोग भएको भन्दैमा एक्कासी भत्काएको प्रति भने थिङले गुनासो गरे । ‘इँटा भट्टामा नगई फोनको भरमा काम गरियो, केही गुणस्तरहीन इँटा मिसिएर आएछ,’ थिङले भने, ‘काम गर्ने सिलसिलामा त्यही गुणस्तरहीन इँटा प्रयोग भएछ, यसलाई निकाल भन्दिएको भए हामी निकाल्थ्यौं, सुध्रने अवसर नदिई होपलेस गराउन खोजियो ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully