प्रतिष्ठानको पारदर्शिता सुनिश्चित भएमा सेवाग्राहीहरूको विश्वास अभिवृद्धि हुनुका साथै अस्पतालको सेवा प्रवाहमा सुधार आउने विश्वास रहेकोले यस विषयमा सम्बन्धित निकायले सूचना प्रवाह नगरेसम्म बेथितिविरुद्ध हस्ताक्षर अभियान निरन्तर चलिरहने स्थानीय प्रज्जवल श्रेष्ठले बताए ।
What you should know
धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको बेथिति, अपारदर्शिता तथा निर्माण प्रक्रियासम्बन्धी विषयमा पारदर्शिताको माग गर्दै हस्ताक्षर अभियान संचालन गरिएको छ ।
प्रतिष्ठानको व्यवस्थापनमा कमजोरी, सेवा प्रवाहमा ढिलासुस्ती तथा अपारदर्शिताका घटना बढ्दै गएको भन्दै स्थानीय प्रज्जवल श्रेष्ठको नेतृत्वमा पारदर्शिताको माग गर्दै निवेदन पेश गरी धरान–२ भानुचोकमा गत मंगलबार गतेदेखि हस्ताक्षर अभियान सुरु गरिएको हो ।
नेपालको संविधानको धारा २५ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार सम्बन्धित निकायले आवश्यक सूचना तथा तथ्यांकको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनुपर्ने प्रज्जवल श्रेष्ठले बताए ।
विशेष गरी मातृ तथा शिशु स्वास्थ्य भवन निर्माणमा कानुनविपरीत ठेक्का प्रक्रिया अपनाइएको भन्ने विषय सार्वजनिक रूपमा उठ्दै आएको र यसले आमनागरिकमा गम्भीर चासो तथा आशंका उत्पन्न गरेकाले यथार्थ विवरण स्पष्ट तथा पारदर्शी रूपमा सार्वजनिक गर्न पहल गरेको उनको भनाइ छ ।
अस्पताल भवन निर्माण, मर्मत तथा पूर्वाधार विकाससम्बन्धी सम्पूर्ण जानकारी, भवन निर्माणमा अपनाइएको ठेक्का प्रक्रिया कानुनसम्मत भए नभएको स्पष्ट विवरण, अस्पतालको फोहरमैला व्यवस्थापन संकलन, प्रशोधन तथा नष्ट गर्ने प्रक्रिया, सवारी साधनको प्रयोग, इन्धन खर्च तथा मर्मत व्यवस्थापन, औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रियासम्बन्धी टेन्डर लागत तथा आपूर्तिकर्ता लगायतको पूर्ण विवरण सार्वजनिक गर्न माग गरिएको छ ।
प्रतिष्ठानको पारदर्शिता सुनिश्चित भएमा सेवाग्राहीहरूको विश्वास अभिवृद्धि हुनुका साथै अस्पतालको सेवा प्रवाहमा सुधार आउने विश्वास रहेकोले यस विषयमा सम्बन्धित निकायले सूचना प्रवाह नगरेसम्म बेथितिविरुद्ध हस्ताक्षर अभियान निरन्तर चलिरहने श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म यस अभियानमा ऐक्यबद्धता जनाउँदै दुई हजारभन्दा बढी मानिसले हस्ताक्षर गरेका छन् ।
