ढल निर्माणको काम एमएमसी आरएस एस जेभी कम्पनीले गरिरहेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाले ठेक्का आह्वान गरी परियोजना अघि बढाएको हो।
What you should know
संखुवासभा —
जिल्ला सदरमुकाम खाँदबारीमा पहिलोपटक व्यवस्थित र आधुनिक ढल व्यवस्थापन निर्माणको काम तीव्र रूपमा अघि बढेको छ।
संखुवासभाको खाँदबारी नगरपालिकाले नगरको सरसफाइ र दिगो सहरी व्यवस्थापनलाई लक्षित गर्दै करिब ७५ रोपनी क्षेत्रफलमा ढल प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने गरी १८ करोड २३ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको हो। यो परियोजनाले नगरको स्वास्थ्य, वातावरण र जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
'नगरपालिका–९ स्थित सुकेचौरमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माण कार्य सुरु भइसकेको छ। यस परियोजनाअन्तर्गत करिब आठ किलोमिटर लामो पाइपलाइन बिछ्याइनेछ, नगरका घरघरबाट निस्कने फोहोर पानीलाई संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्याउनेछ,' खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले भने । उनका अनुसार पाइपलाइन जिल्ला समन्वय समितिको क्षेत्रबाट सुरु भई विभिन्न बस्ती हुँदै ट्रिटमेन्ट प्लान्टमा पुग्नेछ।
उनका अनुसार ढल व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउन ३४० भन्दा बढी म्यानहोल (मङ्गल) निर्माण गरिनेछ, जुन हरेक २५ मिटरको दूरीमा राखिने योजना छ। यसले पाइपलाइनको मर्मतसम्भार र सञ्चालनलाई सहज बनाउनेछ। पाइपहरू करिब डेढ मिटर गहिराइमा गाडिनेछन्, यसले दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी ढल व्यवस्थापन सुनिश्चित गर्नेछ।
ट्रिटमेन्ट प्लान्टका लागि १४ वटा ट्यांकी निर्माण गरिनेछ, घरबाट आएको फोहोर पानी विभिन्न चरणमा प्रशोधन गरिनेछ। प्रशोधनपछि निस्कने पानीलाई वातावरणमा कुनै असर नपर्ने गरी सुरक्षित रूपमा बाहिर विसर्जन गरिने योजना रहेको छ। यसले नदी, खोला तथा भूमिगत पानी प्रदूषणको जोखिमलाई समेत घटाउनेछ।
ढल निर्माणको काम एमएमसी आरएस एस जेभी कम्पनीले गरिरहेको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाले ठेक्का आह्वान गरी परियोजना अघि बढाएको हो। निर्माण व्यवसायी मिलन गौतमका अनुसार हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। उनका अनुसार तोकिएको समयसीमाभित्रै गुणस्तरीय रूपमा काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ।
निर्माणको सम्झौता २०८२ असार महिनामा भएको हो भने २०८४ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणको प्रारम्भिक चरणमा ट्यांकी निर्माणलाई प्राथमिकता दिइएको छ । त्यसपछि बजार क्षेत्रमा पाइप बिछ्याउने काम सुरु गरिनेछ।
खाँदबारी नगरपालिकाका प्रमुख थपलियाका अनुसार यो परियोजना सम्पन्न भएपछि नगरका करिब ८ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनले भने, 'यो ढल व्यवस्थापन मात्र होइन, खाँदबारीको दिगो विकासतर्फको ठूलो कदम हो। यसले नगरलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउन मद्दत पुर्याउनेछ।'
स्थानीय बासिन्दाहरूले पनि यस परियोजनाप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। स्थानीय दिव्यराज श्रेष्ठका अनुसार ढल निर्माणपछि सरसफाइ र सेनिटेसनको कामलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ। उनले भने, 'ढल बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको उचित व्यवस्थापन र नियमित सरसफाइ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्छ।'
यो आयोजनाले खाँदबारीलाई आधुनिक सहरीकरणतर्फ उन्मुख गराउने विश्वास लिइएको छ। विशेष गरी अव्यवस्थित ढल निकासका कारण हुने दुर्गन्ध, फोहोर पानीको जमावट र स्वास्थ्यसम्बन्धी समस्याहरूको समाधान हुने अपेक्षा गरिएको छ। वातावरणीय सन्तुलन कायम राख्न पनि महत्त्वपूर्ण मानिएको छ, प्रमुख थपलियाले भने प्रशोधन गरिएको पानीलाई सुरक्षित रूपमा विसर्जन गर्ने व्यवस्थाले प्राकृतिक स्रोतहरूको संरक्षणमा योगदान पुर्याउनेछ।
'खाँदबारी नगरपालिकाको यो पहलले नगरवासीको जीवनस्तर सुधार्न, स्वच्छ वातावरण निर्माण गर्न र दिगो विकासको मार्ग प्रशस्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ,' उनले भने, 'अब सबैको ध्यान निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न हुनेतर्फ केन्द्रित भएको छ।'
