खोटाङमा ठेक्का लिएर काम नगर्ने १९ योजनाका निर्माण व्यवसायीलाई अन्तिम चेतावनीसहित पत्राचार

पुस र माघमै सम्झौता भएका योजना हालसम्म सञ्चालन नभएपछि अन्तिम पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।

वैशाख १२, २०८३

डम्बरसिं राई

Final warning letter sent to construction entrepreneurs of 19 projects in Khotang who do not fulfill contracts

खोटाङ — पूर्वाधार विकास कार्यालय खोटाङले ठेक्का लिएर काम नगर्ने १९ योजनाका निर्माण व्यवसायीलाई अन्तिम चेतावनीपत्र दिएको छ । २०८२/८३ मा भौतिक पूर्वाधार विकास कार्यालय खोटाङसँग सम्झौता गरी काम नगर्ने १९ योजनासम्बद्ध व्यवसायीलाई  चेतावनी पत्र दिइएको हो ।

पुस र माघमै सम्झौता भएका योजना हालसम्म सञ्चालन नभएको, बर्खा र आर्थिक वर्षको अन्त्यमा हुने निर्माण कार्य गुणस्तरीय नहुने, अधुरो हुने, विनियोजित बजेट फ्रिज भएर जाने र आम उपभोक्ताले सास्ती खेप्नुपर्ने भएकाले अन्तिम पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए । सम्झौताबमोजिम बेलामा काम नगरे विनियोजित बजेट बराबरको रकम सम्बन्धित निर्माण व्यवसायीसँग असुल गरेर कालोसूचीमा राखिने उनको भनाइ छ ।

दाहालका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खामखुवा सेरा फलाटे सडक कालोपत्रेको ठेक्का लिने सुदेमु कन्स्ट्रक्सन खोटाङ, साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँस्थित भगरपुल कुरिमा सडक योजना, दुईचुप्ला हुँदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बुतेपाछाको साकेला थान हुँदै मुडेटोल सडक र साकेला गाउँपालिका–५ स्थित बरडाडा पलंका तावा दोभान टुकुरे दोभान हुँदै दिखुवा दोभान सडक योजना सम्बद्ध साल्मे कन्स्ट्रक्सन प्रालि खोटाङलाई अन्तिम चेतावनीको पत्राचार गरिएको छ ।

त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको चुलिपामे सडक निर्माण योजना सम्बद्ध पीके निर्माण सेवा उदयपुर, केपिलासगढी गाउँपालिका–१ फेदीस्थित फेदी धोद्रे भोजपुर सडक स्तरोन्नति क्रमागत योजना सम्बद्ध भीमा कन्स्ट्रक्सन प्रालि, ऐसेलुखर्क गाउँपालिकास्थित सीबीएस जाखिला हुँदै बाहाने जाने सडक स्तरोन्नति सम्बद्ध रैछाकुले कन्स्ट्रक्सन प्रालि, केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पत्करु सुम्दे सडक र हलेसी तुवाचुङ नगरपालिकास्थित राजापानी–धितुङ–हलेसी सडक खण्ड अन्तरगत एक्ले बर–जोरकुवा–पन्थे सडक स्तरोन्नति निर्माण सम्बद्ध रानासाम्पाङ कन्स्ट्रक्सन प्रालि खोटाङलाई अन्तिम चेतावनी स्वरूप पत्राचार गरिएको दाहालले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाडाँस्थित मेवा खोला दुम्ली दोबेला सडक स्तरोन्नति सम्बद्ध एसआर दोर्पा जेभी खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पञ्चकन्या आधारभूत विद्यालय खाम्ला ग्रामीण कृषि सडक सम्बद्ध सुगम सफल कन्स्ट्रक्सन प्रालि भक्तपुर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित बैंक–चौक–खाल्ले कात्तिके सडक स्तरोन्नति र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित पोखरे जामुने साँगुटार सडक स्तरोन्नति सम्बद्ध इमो बिल्डर्स प्रालि उदयपुरलाई पनि अन्तिम चेतावनीपत्र बुझाइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ खमारे महोरिया हुदै रातमाटा हुँदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको खानीडाडाँ विमानस्थल जोड्ने सडक योजना सम्बद्ध डीबी कन्स्ट्रक्सन उदयपुर, बङ्सिला मौवाबोटे चिसापानी खोटाङ बजार सडक कालोपत्रे योजना सम्बद्ध पोल स्टार शान्तिभूमि जेभी खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित चप्लेटीदेखि ज्यामिरे हुँदै मलबासे धिप्लुङ धर्ना सडक योजनासम्बद्ध नितेश कन्स्ट्रक्सन खोटाङलाई पत्राचार गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको खमारेदेखि थ्रीस्टार हाइड्रोपावर हाउससम्म सडक स्तरोन्नति सम्बद्ध इकिमा कन्स्ट्रक्सन प्रालि खोटाङ र बारापोखरी गाउँपालिका–६ स्थित बालिका फापरबारी सिरुवानी सडक निर्माण योजना सम्बद्ध बीएन्डबी निर्माण सेवा उदयपुरलाई अन्तिम चेतावनीको पत्राचार गरिएको दाहालले जानकारी दिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully