नगरपालिकाको १० लाख बजेटमा जनप्रतिनिधि र पत्रकारको टोली भ्रमणमा

अन्तरपालिका सिकाइ आदानप्रदान र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को मापदण्ड पूरा गर्न भ्रमणको आयोजना गरिएको नगर प्रमुख बस्नेतले भनाइ ।

वैशाख १२, २०८३

राकेश नेपाली

A team of public representatives and journalists are on a tour with a budget of Rs. 1 million for the municipality.

What you should know

उदयपुर — त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारको टोली नौ दिने भ्रमणमा निस्किएको छ । नगरपालिकाको १० लाख बजेटबाट नगर कार्यपालिका सदस्य, दुई जना कर्मचारी र तीन जना पत्रकार गरी २६ जनाको टोली पश्चिम नेपालको भ्रमणमा निस्किएको हो । 

अन्तरपालिका सम्बन्धका लागि शुक्रबार बिहान भ्रमणमा निस्किएको नगरपालिकाका प्रमुख वसन्त बस्नेतले बताए । उनका अनुसार भ्रमण टोलीले सुर्खेत, कालिकोट, रारा लगायत स्थानको अवलोकन गर्नेछ । 

नगरपालिकाको बजेटबाट जनप्रतिनिधि र पत्रकारसहितको टोली भ्रमणमा निस्किएको विषयमा सामाजिक संजालमा भने चर्को आलोचना भइरहेको छ । नगरपालिका र वडा कार्यालयको सेवा प्रवाह ठप्प पारेर जनप्रतिनिधि घुम्न निस्किएको भन्दै आलोचना भइरहेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी त्रियुगा नगर सभापतिले सामाजिक संजालमा स्टाटस लेख्दै जनताले तिरेको करबाट जनप्रतिनिधि मनोरञ्जन र घुमघाम गर्न निस्किनु जनभावनाको उपहास गर्नुका साथै कर तिर्ने जनतामाथि अन्याय गरिएको बताएका छन् ।

उनले जनताले पसिना बगाएर तिरेको कर नगरपालिकाले परिणामविहीन कार्यमा खर्च गर्नु जनप्रतिनिधिको गैरजिम्मेवारीपन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठ्ने कदम भएको उल्लेख गरेका छन् । कतिपयले नगरपालिकाले शिक्षक दरबन्दी मिलान र त्यसबाट उत्पन्न विवाद उत्कर्षमा पुगेका बेला जनप्रतिनिधि र कर्मचारी घुमघाममा निस्किएको भन्दै जवाफदेहिताको प्रश्न उठाएका छन् । उनीहरुले विगतमा पनि हुने गरेका यस्ता भ्रमणको उपलब्धि नभएको भन्दै अनावश्यक क्षेत्रमा नगरपालिकाको बजेट खर्च गरेको आरोप लगाएका छन् । 

आर्थिक वर्ष २०८२/८३ अन्तर्गत त्रियुगा नगरपालिकाबाट जनप्रतिनिधिहरुको अन्तरपालिका अनुगमन आदानप्रदान तथा भ्रमण कार्यक्रम शीर्षकमा ६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । तर, गत पुस ७ गते नगरपालिकाको १६ औं नगरसभाले सो शीर्षकको बजेट संशोधन गरेर १० लाख पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताए । 

अन्तरपालिका सिकाइ आदानप्रदान र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को मापदण्ड पूरा गर्न समेत भ्रमणको आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताए । उनका अनुसार बर्सेनि नगरपालिकाको बजेटमार्फत जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमण गर्दै आएका छन् ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully