बजार क्षेत्रका फुटपाथ हटाउन फुङलिङ नगरपालिकाको ७ दिने अल्टिमेटम

नगरपालिकाले बजार क्षेत्रका घरको माथिल्लो तलामा राखिएका गमला नझर्ने सुनिश्चितता गर्न वा हटाउन समेत भनेको छ ।

वैशाख ११, २०८३

आनन्द गौतम

Phungling Municipality issues 7-day ultimatum to remove sidewalks in market area

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले बजार क्षेत्रमा घरको माथिल्लो तलामा राखिएका गमला समेत नझर्ने सुनिश्चितता गर्न वा हटाउन भनेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडलले सूचना जारी गदै र नगर प्रहरीले हरेक घरदैलोमा पुगेर यस्तो उर्दी गरेको हो ।

स्थानीय सञ्चार माध्यम मार्फत पनि फुटपाथमा राखेका व्यापार व्यवसाय हटाउन निर्देशन दिइएको छ । नगरपालिका प्रमुख अमिर मादेनले कसैले नटेरे वा जबरजस्ती गरे नगर प्रहरीले नियन्त्रणमा लिने चेतावनी दिएका छन् । ‘हाम्रो बजार साँघुरो छ, गाडीको पनि त्यत्तिकै चाप छ,’ मेयर मादेनले भने, ‘त्यस्तो बजारमा पनि सडकसम्म व्यापारिक सामग्री राखिएको हुन्छ । त्यसलाई हामी सबै हटाउँछौं।’

नागरिकले सूचना पाएनौं भनेर गुनासो नगरून् भनेर ७ दिनको अल्टिमेटम दिइएको र सोमबारदेखि कडाइ गर्न थाल्ने मादेनले बताए । नगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह भनेको छ । सडकपेटीमा अन्य कुनै पनि सामग्री नराख्न समेत निर्देशन दिइएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully