हर्क साम्पाङद्वारा उद्घाटन गर्ने भनिएको सालिक उद्घाटन कार्यक्रम विवादमा

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक उभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरे पनि नगरपालिकाको सहमति नहुँदा विवादमा परेको हो ।

वैशाख १०, २०८३

डम्बरसिं राई

Controversy over statue inauguration program to be inaugurated by Hark Sampang

What you should know

खोटाङ — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)द्वारा आगामी वैसाख १८ मा तय गरिएको यलम्बरको सालिक उद्घाटन कार्यक्रम विवादमा परेको छ ।

वडा कार्यालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक उभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरे पनि नगरपालिकाको सहमति नहुँदा विवादमा परेको हो ।

वडाध्यक्ष दिनेश राईले बुधबार पत्रकार सम्मेलन गरी साम्पाङलगायत प्रतिनिधिसभा सदस्य आरेन राई, गायक राजेश पायल राई, नायक दयाहाङ राई, कलाकार यलिसा राईलगायतको उपस्थितिमा उद्घाटन गर्ने जानकारी गराएका थिए । 

तर बिहीबार सालिकको नगरपालिकाकै आयोजनामा उद्घाटन गर्ने योजना बनाइएको उपप्रमुख विसन राईले बताए । उपप्रमुख राईलगायत वडाअध्यक्षहरूको छलफलमा प्रदेश र नगरपालिकाको बजेटमा निर्माण भएकाले नगरपालिकाले अपनत्व लिने र नगरकै आयोजनामा उद्घाटन गर्ने योजना बनाइएको उपप्रमुख राईले बताए । यसका लागि आगामी शुक्रबार कार्यपालिका बैठकबाट निर्णय गरिने उपप्रमुख राईले बताए ।  

वडाअध्यक्ष राईले भने आफ्नो वडाको योजना भएकाले वडानै आयोजक हुने बताएका थिए । उक्त सालिक कोशी प्रदेश सरकारको ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ४९ लाख २३ हजार १ सय ५४ रूपैयाँको लागतमा निर्माण भएको हो । 

उमा तुवाचुङ अन्सुली जेभीले ११ करोड ५८ लाख १६ हजार ४ सय ४१ रूपैयाँमा १८ महिनाभित्र सक्ने गरी २०७८ असार २८ मा सम्झौता गरेको थियो । तर डिजाइनका कारण बेलामा काम नसकिँदा पटक–पटक म्याद थपिँदै आएको थियो । योजनाको गत वर्ष काम सम्पन्नपछि भुक्तानी समेत भइसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताएका छन् । 

निर्माण सम्पन्नपछि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीबाट गत जेठ १८ मै  उद्घाटन गर्ने योजना बनाइए पनि पहिचान पक्षधरहरूले अवरोध गरेका थिए । कोशी प्रदेश नामाङ्कनको पक्षमा हस्ताक्षर गर्ने कोशी प्रदेशका ८२ जना सांसद र पहिचान पक्षधरहरूविरुद्धमा उभिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, महेश बस्नेत र योगेश भट्टराई गरी ८५ जनाको हातबाट उद्घाटन गर्न नहुने भन्दै किराँत राई यायोक्खाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पत्राचार गरेपछि उद्घाटन रोकिएको थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully