बैठकले संक्रमण रोकथामका लागि तत्काल प्रभाव पर्ने गरी १५ दिनसम्म कुखुरा, चल्ला तथा कुखुराको मासु ढुवानीमा प्रतिबन्ध लगाएको छ ।
पाँचथर — छिमेकी जिल्लाहरुमा फैलिएको बर्ड फ्लुको जोखिम बढेसँगै पाँचथरमा १५ दिनका लागि कुखुरा, चल्ला र कुखुराजन्य वस्तुको ढुवानीमा रोक लगाइएको छ । वर्ड फ्लु समन्वय समिति पाँचथरको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिको निर्णय कार्यन्वयनका लागि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सार्वजनिक सूचना जारी गर्दै झापा, मोरङ र सुनसरी जिल्लामा पछिल्लो समय बर्ड फ्लु रोगको जोखिम पाँचथरमा पनि उत्तिकै रहेको भन्दै जिल्लासँग सडक सञ्जाल र व्यापारिक आवागमनले जोडिएका कारण संक्रमण फैलिने जोखिम उच्च रहेको जनाएको हो ।
बैठकले संक्रमण रोकथामका लागि तत्काल प्रभाव पर्ने गरी १५ दिनसम्म कुखुरा, चल्ला तथा कुखुराको मासु ढुवानीमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, संक्रमित जिल्लाबाट अण्डा तथा अन्य कुखुराजन्य सामग्री ल्याउँदा सम्बन्धित जिल्लाको पशु सेवा कार्यालयबाट प्रमाणित कागजात र स्वास्थ्य प्रमाणपत्र अनिवार्य ल्याउन भनिएको छ । कागजात नभएको अवस्थामा यस्ता सामग्री जिल्लाभित्र ल्याउन नपाइने बताइएको छ ।
सवारीसाधनमार्फत यात्रुले सानो परिमाणमा कुखुरा वा चल्ला बोकेर ल्याउने कार्यसमेत रोक्न आग्रह भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमूख रामनारायण साहले बताए ।
सीमावर्ती क्षेत्रका किसानलाई आफ्ना फार्ममा रहेका कुखुराको नियमित निगरानी गर्न, नमुना परीक्षणका लागि पशु सेवा कार्यालयसँग सम्पर्क राख्न र कुखुरामा अस्वाभाविक मृत्यु भए तुरुन्त जानकारी गराउन आग्रह गरिएको पनि उनले बताए । प्राकृतिक तालतलैया वा जलाशय क्षेत्रमा आउने आगन्तुक चराचुरुङ्गीबाट समेत संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन भनिएको छ ।
रोगको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर निगरानी बढाइएको छ । ‘संक्रमण फैलिन नदिन सबै सरोकारवाला र नागरिकको सहयोग आवश्यक छ,’ उनले भने । पछिल्लो केही साता फैलिएको बर्ड फ्लु जोखिमका कारण झापा, मोरङ र सुनसरीमा हजारौं कुखुरा मरेका छन् । नियन्त्रणका लागि लाखौं संख्याका कुखुरा र हाँस नष्ट गर्नका साथै सयौं फर्म सिल गरिएको जनाइएको छ ।
