स्थानीयका अनुसार दुईवटा पोल ढल्किएको छ भने एउटा पूरै ढलेको छ ।
ताप्लेजुङ — सोमबार साँझको हावाहुन्डरीका कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर क्षेत्रमा रुख ढलेर पोल भाँचिएको छ।
विद्युत् कार्यालय ताप्लेजुङका प्रमुख उमेश श्रेष्ठका अनुसार मर्मतका लागि दुई टोली परिचालन गरिएको छ । श्रेष्ठले भने, 'एउटा टोलीले भाँचिएको पोल पन्छाएर गाड्ने ठाउँ बनाइरहेको छ र अर्कोले पोल ढुवानी गर्दै छ ।'
स्थानीयका अनुसार दुईवटा पोल ढल्किएको छ भने एउटा पूरै ढलेको छ । हावाहुन्डरीले काबेलीदेखि अमरपुरसम्मको सडक पनि अवरुद्ध गरेको थियो । प्रहरी, यात्रु र स्थानीयले सोमबार राति अवरोध पन्छाएर खुलाएको पाँचथर अमरपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
हिलिहाङ गाउँपालिकाका अनुसार किसानले लगाएको बालीमा पनि क्षति पुगेको छ ।
