उदयपुरको बेल्टारमा भीषण आगलागी, २ जनाको जलेर मृत्यु

आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।

वैशाख ८, २०८३

राकेश नेपाली

Massive fire breaks out in Udayapur's Beltar, 2 people die in burns

उदयपुर — उदयपुरको चौदण्डिगढी नगरपालिका-७ बेल्टारमा भएको भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मङ्गलबार राति २:४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो । 

बेल्टार स्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर एक्कासी आगोले लक्ष्मिसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेर पूर्ण रूपमा नष्ट बनाएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जलेर दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए । उनका अनुसार आगलागीमा परी घाइते भएकी अस्मिता खड्काको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

आगो त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान नियन्त्रणमा लिइएको छ । क्षतिको अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully