२३ तारिख अर्थात वैशाख १० मा दार्जीलिङलगायतका १६ जिल्लामा मतदान हुँदैछ।
विराटनगर — भारतको पश्चिम बंगालमा अप्रिल २३ देखि २६ तारिखसम्म हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा सोमबार मध्यरातिदखि सिल गरिँदैछ ।२३ तारिख अर्थात वैशाख १० मा दार्जीलिङलगायतका १६ जिल्लामा मतदान हुँदैछ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार पश्चिम बंगालको दार्जीलिङ जिल्लासँग सीमा जोडिने झापाका काँकडभिट्टा र भद्रपुर तथा इलामको पशुपतिनगर नाका ७२ घण्टा सिल गरिने छ ।
निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै देशका सुरक्षा निकायबीचको समन्वयमा सीमा सिल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाए। 'भारतीय जिल्ला प्रमुखको आधिकारिक पत्र त आएको छैन', प्रजिअ गेलालले भने,'वारिपारिका चुनावमा सिल गर्ने परम्परा छ, त्यसलाई निरन्तरता दिइएको हो ।'
जिल्ला प्रशासन कार्यालयका अनुसार सीमा बन्द हुँदा अत्यावश्यकबाहेक अन्य सबै आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। विशेष गरी सर्वसाधारणलाई अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ भने आपतकालीन सेवा, स्वास्थ्यसम्बन्धी कारण वा अत्यावश्यक सरकारी कामका लागि भने समन्वयमार्फत आवागमनको व्यवस्था मिलाइने जनाइएको छ।
भारततर्फ हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सीमाक्षेत्रमा कडाइ गरिने परिपाटीअनुसार यसपटक पनि काँकडभिट्टा-पानीट्यांकी, भद्रपुर-गलगलिया र पशुपतिनगर-फाटक नाका बन्द गरी निगरानी बढाइएको छ।
पहिलो चरणमा १६ जिल्लामा चुनाव
पश्चिम बंगाल विधानसभा चुनावको पहिलो चरणअन्तर्गत २३ अप्रिल अर्थात १० वैशाखमा १६ जिल्लाका १ सय ५२ सिटमा मतदान हुँदैछ।
करिब ३ करोड ६० लाख मतदाता चुनावमा भाग लिने अनुमान छ । राज्य निर्वाचन आयोग,पश्चिम बंगालका अनुसार सबै मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बल परिचालन गरिसकिएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ। उत्तर बंगालका कुचबिहार, अलीपुरदुआर, जलपाइगुडी, दार्जीलिङ र दिनाजपुर जिल्लामा चुनाव हुनेछ।
जंगलमहल क्षेत्रअन्तर्गत पर्ने पुरुलिया, बांकुडा, झाडग्राम र पश्चिम मेदिनीपुर, मालदा र मुर्सिदाबादमा त्यसै दिन चुनाव हुँदैछ । त्यस्तै पूर्व बर्दवान र नदियाका केही क्षेत्रमा पनि पहिलो चरणमै मतदान जनाइएको छ।
