पाँचथरको फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलामको देउमाइ नगरपालिकाको संगमस्थल सुकेपोखरी, लोहकिल र देउराली क्षेत्रमा गुराँस हेर्नकै लागि आउनेको भीड लाग्न थालेको छ ।
What you should know
पाँचथर — मेची राजमार्गले छोएको पौवाभञ्ज्याङदेखि करिब २ किलोमिटर उकालो लागेपछि पुगिन्छ सुकेपोखरी । यहाँबाट जंगलको बाटो समाउँदै उकालो लागेपछि भेटिन्छ ठूलो क्षेत्रफलमा फैलिएको वनभरी ढकमक्क फूलेका थरिथरीका गुराँस ।
गुराँसको बोट र टुप्पो मात्रै होइन फक्रिएर झरेका फूलले जमिन पनि रंगीबिरङ्गी देखिन्छ । पाँचथरको फिदिम नगरपालिका–१४, फाल्गुनन्द गाउँपालिका–३ र इलामको देउमाइ नगरपालिकाको संगमस्थल सुकेपोखरी, लोहकिल र देउराली क्षेत्रमा गुराँस हेर्नकै लागि आउनेको भीड लाग्न थालेको छ । यहाँ चैतको मध्यदेखि गुराँस फुल्न थालेको हो । फुलेका गुराँसले यहाँका डाँडाकाँडालाई राताम्ये देखिएका छन् ।
यहाँ आइपुगेकाहरु आफुलाई ढकमक्क फुलेका गुराँस मात्रै नभएर पुरानो कलात्मक गुराँसे वन र चराचुरुंगीको चिरबिर आवाज आइरहने घना वनले पनि आकर्षित गरेको सुनाँउछन् । गुराँसे जंगलमा मोटा रुखका टोड्का, फराकिला हाँगाबिंगा र प्रायः सबै रुखमा पलाएका झ्याउले पर्यटक आकर्षित हुने गरेका छन् ।
पछिल्लो समय यी दृश्य हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । यस क्षेत्रमा इलाम र पाँचथरबाहेक झापा र मोरङबाट पनि गाडी रिर्जव गरेर गुराँस हेर्न आउनेको भीड हुने गरेको छ । यहाँ गुराँससँग फोटो–भिडियो खिच्न र वनभोज खान जानेको संख्या पनि उत्तिकै देखिन्छ । ‘सुरुमा उकालो चढ्न कठिन जस्तो भयो, पुगिसकेपछि त दिन बितेको पतै भएन, गुराँसले रंगिएको वन मनोरम रहेछ,’ झापाको धुलाबारीदेखि यहाँ आइपुगेकी जेनिसा खड्काले भनिन्, ‘वनभित्र पस्दा डुलिरहुँ लाग्ने र थकान मेटिने रहेछ ।’
परिवारका सदस्यसँग उकालो चढ्दै गरेका फिदिमका सुजन खड्काले फूलेका गुराँस मात्रै नभइ कलात्मक रुख–बुट्यान र गुराँसको घना जंगलले मनमोहक बनाएको बताए । इलामको रोङबाट साथीहरुसँग घुम्न आएका पुजन क्षेत्री पनि गुराँसको वन देख्दा निकै उत्साहित थिए । ‘एक/दुई थुंगा गुराँस त देखेकै हो, पुराना रुख र ठूलो जंगल पहिलो पटक देख्दा छक्क परें,’ उनले भने ।
यो वर्ष पाँचथर, इलाम, झापा र मोरङसँगै आसपासका जिल्लाबाट हजारौं पर्यटक आइपुगेको स्थानीय होम स्टे सञ्चालक मदन राईले सुनाए । उनका अनुसार गुराँस फुल्ने बेला यहाँ धेरै मानिस आउने गरेका छन् । उनले भने, ‘घुम्न आउनेहरू राति होमस्टेमा बस्छन्, बिहान फेरि जंगल घुम्न निस्कन्छन् ।’
यस क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै करिब १५ घरमा होमस्टे सञ्चालन भइरहेको छ । जंगलभित्र कतै गुराँसका फूल झरेर जमिन राताम्य बनेको छ, कतै रुखभरि फुलेका फूलले डाँडै रंगिएको छ ।
