फेमे खोलामा बेलिब्रिजबाट आवागमन सुचारु

२०८१ असोज १२ को बाढीले बाढीले पुल बगाएपछि यहाँ डाइभर्सनका भरमा यातायात र ढुवानीका साधन वारपार गराइँदै आएको थियो ।

वैशाख ६, २०८३

लक्ष्मी गौतम

Traffic resumes from Bailey Bridge on the Feme River

पाँचथर — फिदिम–याङनाम–प्राङवुङ–फालौट सडक अन्तरगत पाँचथरको फिदिम नगरपालिका–१ र ११ को सिमाना छुट्याउने फेमेखोलामा बेलिब्रिज सञ्चालनमा आएको छ । उक्त बेलिब्रिज आइतबार बिहानदेखि सञ्चालनमा आएको हो ।

यहाँको पक्की पुल १९ महिनाअघि २०८१ असोज १२ को बाढीले बगाएको थियो । बाढीले पुल बगाएपछि यहाँ डाइभर्सनका भरमा यातायात र ढुवानीका साधन वारपार गराइँदै आएको थियो । यद्यपि पटक–पटक बाढी आएर डाइभर्सन बगाउँदा आवागमन प्रभावित हुने गर्थ्यो ।

कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय पाँचथरले यहाँ बेलिब्रिज निर्माण गरेको हो । ५० मिटर लामो बेलिब्रिज काबेली खोलाबाट ल्याइएको हो । पुल निर्माणका लागि १ करोड ३९ लाख ८२ हजार ५६२ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । एसएस सुनगाभा निर्माण कम्पनीले ठेक्का सम्झौतामार्फत पुल जडान गरेको हो ।

बेलिब्रिज सञ्चालनमा आएसँगै फिदिम–फालोट सडकखण्ड हुँदै सवारी आवागमन सहज हुने स्थानीयको अपेक्षा छ । तर भिरालो खोलामा विगतका वर्ष आएको बाढीले ठूलो क्षेत्रफल काटेर बगर बनाएकाले बाढीको जोखिम उत्तिकै रहेको प्राविधिकहरु बताँउछन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully