बर्डफ्लु संक्रमण भित्रन नदिन ताप्लेजुङमा सवारीसाधन जाँचमा कडाइ

१९ फर्म तथा मासु पसलबाट संकलित नमुनामा भाइरस नदेखिए पनि थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

वैशाख ६, २०८३

आनन्द गौतम

Stricter vehicle checks in Taplejung to prevent bird flu infection

काठमाडौँ — बर्डफ्लु संक्रमण भित्रन नदिन जिल्ला सवारीसाधनमा जाँच कडाइ पारिएको छ । निषेधित सामग्री आयात भए नियन्त्रणमा लिई नष्ट गर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्ने प्रशासन कार्यालयले जनाएको छ । 

बर्डफ्लु संक्रमण भएका तराईका जिल्लाबाट पक्षी र पक्षीजन्य वस्तु ल्याउन भने जिल्लामा पूर्ण रोक लगाइएको छ । 

झापा, मोरङ र सुनसरीमा बर्डफ्लु देखिएपछि सावधानी अपनाइएपछि ताप्लेजुङमा बर्डफ्लुसम्बन्धी कुनै संक्रमण नभएको पशुसेवा तथा भेटरीनरी कार्यालयले जनाएको छ । शनिबार सदरमुकामका १९ वटा फर्म तथा मासु पसलबाट नमुना संकलन गरी स्क्रिनिङ परीक्षण गरिएको थियो । परीक्षणमा कुनै पनि किसिमको भाइरस फेला नपरेको भेटनरी अस्पतालका प्रमुख रोशन दाहालले जानकारी दिए ।

दाहालका अनुसार संकलन गरिएको नमुनाको एभियन इन्फ्लुएन्जा भाइरस एन्टिजेन परीक्षण गरिएको थियो । उक्त परीक्षणको क्रममा कुनै पनि भाइरस देखा नपरेको दाहालको भनाइ छ। स्क्रिनिङ परीक्षणमा कुनै किसिमको भाइरस नदेखिएपछि थप परीक्षण आवश्यक नपरेको दाहालले बताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully