ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण रोक

झापा, मोरङ र सुनसरीमा फैलिएको बर्डफ्लु ताप्लेजुङमा भित्रन नदिन पन्छी र पन्छीजन्य वस्तु भित्रिने चेक पोइन्टमा विशेष निगरानी गरिनेछ ।

वैशाख ५, २०८३

आनन्द गौतम

Complete ban on import of poultry products in Taplejung

ताप्लेजुङ —  

झापा, मोरङ, सुनसरीमा बढ्दो बर्डफ्लु संक्रमणका कारण ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्ला बर्डफ्लु नियन्त्रण समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले झापा, मोरङ र सुनसरीमा अनियन्त्रित तवरले फैलिएको बर्डफ्लु ताप्लेजुङमा भित्रन नदिन पन्छी र पन्छीजन्य वस्तु भित्रिने चेक पोइन्टमा विशेष निगरानी गर्ने र भित्रिएको पाइए नष्ट गर्ने निर्णय गरेको छ ।

अर्को सूचना नहुन्जेलसम्म यी तीन जिल्लाबाट पन्छीजन्य वस्तु नल्याउन सरोकारवालालाई निर्देशन दिइएको छ । जिल्लाका सम्पूर्ण पन्छीजन्य व्यावसायिक पसल, मासु पसल र फर्ममा समेत निगरानी गर्ने निर्णय भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रोशन दाहालले जानकारी दिए । बैठकमा एग्रोभेट सञ्चालक लगायत सहभागी थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully