दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ लामिडाँडाका ४० वर्षीय गजुरमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले बताए ।
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडामा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ लामिडाँडाका ४० वर्षीय गजुरमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले बताए ।
दुर्घटनामा घाइते भएका गजुरमानलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेकी गजुरमानकी बहिनी ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएकी हुन् ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०३७५ नं. को ट्रक र रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नं. को मोटरसाइकल शुक्रबार बिहान एक आपसमा ठोक्किएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकलको ठक्करबाट साइकल चालक उदयपुरको बेलका नगरपालिका–१ आम्बासी कालिखोलामा चौदण्डीगढी नगरपालिका–४ बसाहा नमुना टोलका ६० वर्षीय घलबहादुर भुजेलको मृत्यु भएको छ । शुक्रबार दिउँसो फत्तेपुरबाट शनिबारेतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ५७३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
