लोपोन्मुख रेडपान्डा र थार पाइने भएकाले त्यसको संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनिकरण, पर्यावरणीय चेतना, रैथाने सीप र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
खोटाङ — दिक्तेलमा जैविक विविधता रेडपान्डा तथा थार अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सुरु भएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभूवन विश्व विद्यालयको आयोजनामा उक्त सम्मेलन सुरु भएको हो । सम्मेलन उद्घाटन कोशी प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गरेका हुन् । उद्घाटनअघि दिक्तेल बजारमा प्रभातफेरी निकालिएको थियो ।
वैशाख ६ सम्म चल्ने सम्मेलन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा लोपोन्मुख रेडपान्डा र थार पाइने भएकाले त्यसको संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनिकरण, पर्यावरणीय चेतना, रैथाने सीप र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । साथै विभिन्न ३० वटा कार्यपत्रहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूबाट प्रस्तुत गरिने त्रिभूवन विश्वविद्यालयका प्रा. डा. राजेश राईले बताएका छन् ।
मानव वन्यजन्तु बीचको सम्बन्धबारे विज्ञ र स्थानीय बीचको छलफल, वन्यजस्तुको संरक्षण र पर्यापर्यटनलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा ३ वटै तह (संघ, प्रदेश र स्थानीय)का जनप्रतिनिधिहरू समेतको छलफल तथा रेडपान्डा संरक्षणमा जुटेकाहरू (रसुवाको लाङटाङदेखि ताप्लेजुङसम्म)को अनुभव आदानप्रदान गरिने राईले बताएका छन् । उनका अनुसार अन्तिम दिन वैशाख ६ गते घोषणापत्र जारी गरिने छ ।
प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौं विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, बायो टेक्नोलोजी सोसाइटी अफ नेपाल लगायत २ दर्जन बढी विज्ञान प्रविधिसँग सम्बन्धित राष्ट्रियस्तरका संघ–संस्थामा आबद्ध एक सय ५० जना सहभागी रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् ।
