सम्झैतापछि पूर्वी नेपालमा गुणस्तरीय आँखा उपचार सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताए ।
धरान — आँखा उपचार सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीच आपसी सहयोग विस्तार गर्ने उद्देश्यसहित शिक्षक तथा विद्यार्थी आदानप्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, कन्टिन्यू मेडिकल एजुकेसन तालिम तथा आँखा उपचार क्षेत्रमा संयुक्त अनुसन्धानका कार्यक्रम सञ्चालन गरिने सम्झौता भएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताए । सम्झैतापछि पूर्वी नेपालमा गुणस्तरीय आँखा उपचार सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताए ।
प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग सहकार्य गर्दै सेवा, शिक्षा र अनुसन्धानमा गुणस्तर वृद्धि गर्ने दीर्घकालीन नीति अन्तर्गत यो सहकार्यलाई महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। यस समझदारीबाट दुवै संस्थासहित आम नागरिकले गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
