उदयपुरमा सिटी सफारी दुर्घटना, बालकको मृत्यु, दुई जना घाइते

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-जोगिटोलको ओरालो घुम्ती सडकमा नेपालटारबाट गाइघाटतर्फ आउँदै गरेको सिटी सफारी दुर्घटनामा परेको हो ।

वैशाख २, २०८३

राकेश नेपाली

City Safari accident in Udaipur, child dies, two injured

उदयपुर — सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा उदयपुरमा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-जोगिटोलको ओरालो घुम्ती सडकमा नेपालटारबाट गाइघाटतर्फ आउँदै गरेको सफारी दुर्घटना हुँदा रौतामाई गाउँपालिका-७ मुर्कुचीका ४ वर्षीय सुरज मग्रातीको मृत्यु भएको हो ।

दुर्घटनामा सिटी चालक त्रियुगा नगरपालिका-३ भुल्केका ३४ वर्षीय जयराम चौधरी र मृतक सुरजका बाबु दीपक मग्राती घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका सुरजको उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल विराटनगर पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले सुरजलाई मृतक घोषणा गरेको प्रहरीले जनायो । मृतक बालकको शव पोस्टमार्टमका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते अन्य दुई जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । 

दुर्घटनामा परेको कोशी प्रदेश ०५-००१ ह ०६८५ नम्बरको सिटी सफारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully