कोप्चे उत्सवमा नेवारी र आठपहरिया समुदायको मौलिक परिकार, सांस्कृतिक नृत्य, बाघचाल खेल र ऐतिहासिक सामग्रीको प्रदर्शनी आकर्षण बनेका छन्।
धनकुटा — नयाँ वर्षको अवसरमा धनकुटा–५ स्थित बिहीबारेमा सोमबारदेखि चौथो कोप्चे उत्सव भइरहेको छ ।
उत्सव आगामी तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । धनकुटा बजार र नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटक भित्र्याएर चहलपहल बढाउन उत्सव गरिएको आयोजकले जनाएको छ ।
नयाँ वर्षको अवसरमा २०८० देखि कोप्चे उत्सव आयोजना हुँदै आएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुषा, रहनसहन संरक्षण र प्रवर्द्धनका लागि उत्सव थालिएको आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्माचार्यले जानकारी दिए ।
स्थानीय नेवारी र आठपहरिया समुदायको मौलिक खाना परिकारसहितका २० वटा स्टल रहेका छन् । उक्त अवसरमा नेवारी र आठपहरिया जातिको सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गर्नुका साथै नेपालका मौलिक बाघचाल खेल, दुना टपरी बुन्ने प्रतियोगिता, घुम्ने कुर्सीलगायत मनोरञ्जनात्मक खेल खेलाइने जनाइएको छ ।
उक्त अवसरमा काठमाडौं महानगरपालिका–५ हाँडीगाउँस्थित नरदे जीवन्त र कोप्चे पुनर्जागरण बीच भगिनी सम्बन्धको सम्झौता समेत भएको छ । नरदे जीवन्तका गोपाल डंगोल र कोप्चे पुनर्जागरणका उज्ज्वल कर्माचार्यबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष विरेन्द्र प्रजापती, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा अग्रज समाजसेवी राजेन्द्र प्रधान र पत्रकार कविराज घिमिरेलाई सम्मान गरिएको छ । उत्सवमा धनकुटाका पुराना तस्बिर र पुराना विभिन्न सामग्री समेत प्रदर्शनीमा राखिएको छ।
