निर्माण उद्योगमा आपतकाल घोषणा गर्न धनकुटाका व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी संघ धनकुटाले विज्ञप्तिमार्फत वर्तमान अवस्थामा डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनको पटकपटक र अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ ।

वैशाख १, २०८३

रमेशचन्द्र अधिकारी

Dhankuta businessmen demand declaration of emergency in construction industry

धनकुटा — निर्माण व्यवसायीले खेप्न नसक्ने आर्थिक भार व्यहोर्नु परेको भन्दै निर्माण उद्योगमा आपतकाल घोषणा गरी राहत दिन धनकुटाका निर्माण व्यवसायीले माग गरेका छन् । 

नेपाल निर्माण व्यवसायी संघ धनकुटाले विज्ञप्तिमार्फत वर्तमान अवस्थामा डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनको पटकपटक र अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ । 

संघले व्यवसायीले भोगिरहको चरम समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांक अनुसार हुने भएकाले बजारमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको जनाइएको छ । ‘इन्डेक्समा उक्त सामग्रीहरुको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएकोले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिन माग गर्दछौं ।’ 

नेपाल निर्माण व्यवसायी संघले सरकारसहित सम्बिन्धित सबै निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको संघका जिल्ला अध्यक्ष प्रकाशकुमार राई थुलुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । इन्धनजन्य सामग्रीसहित निर्माण कार्यमा प्रयोग हुने विटुमिन, सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामग्रीको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको व्यवसायीले जनाएका छन् । विज्ञप्तीमा क्रसर उद्योगमा देखिएको समस्याले उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण उद्योगको ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको गुनासो गरिएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully