गुराँसका दाउराको प्रयोग, कोइला बिक्री गर्ने, खुला चरिचरन, चोरी निकासी, वनमा सडक निर्माण, विद्युत्को हाइटेन्सन लाइन विस्तार जस्ता कारण गुराँसको राजधानी भनिएकै क्षेत्रका वन मासिँदै गएको संरक्षणविद्को गुनासो ।
What you should know
ताप्लेजुङ — फुङलिङ नगरपालिका-४ ताप्लेजुङका सुरज ओझाले हरेक नयाँ वर्षको दिन आफ्नो गन्तव्यस्थलका रूपमा गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रलाई बनाउने गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङको अध्यक्ष भएको नाताले पनि उनले यो दिन रुखबिरुवाले आकर्षित गर्ने क्षेत्रलाई रोज्ने गरेका हुन् ।
उनको टिममा आफ्नो समूहको साथीभाइ लगायत नयाँ पुस्ताका धेरै हुने गरेका छन् । यस वर्ष पनि चैत ३० गते गएर गुफा पोखरीमा बस्ने र २०८३ सालको नयाँ वर्षको दिन गुराँसका बुटाबुटा चहारेर फर्कने योजना बनाएका छन् ।
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दोभान बजार, मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजार हुँदै तीन घण्टामा ताप्लेजुङ, पाँचथर र सङ्खुवासभाको सङ्गमस्थल गुफापोखरी पुगिन्छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५, पापुङकी फुपुल्हामु शेर्पाको टोलीले पनि यस वर्षको गन्तव्यस्थल गुफापोखरी क्षेत्रलाई बनाउने भएको छ । नयाँ वर्षको दिन घुमफिर र रमाइलो गरे वर्षभरि त्यस्तै अवसर मिल्छ भन्ने मान्यता भएकाले गाउँटोलका साथीभाइ भएर गुफा जाने योजना बनाएको उनले टेलिफोनमा सुनाइन् । 
पापुङबाट गुफापोखरी जान हान्द्रुङ, दोभान, साँघु भएर जानु पर्छ । गुफा यहाँका चौंरी पालकको खर्क पनि हो । तर भ्रमणमा जानेहरूको मुख्य योजना चाहिँ गुराँसमा रम्नु र रमाउनु हो ।
सुरज र फुपुल्हामुजस्ता सयौं मानिस नयाँ वर्ष मनाउन गुराँसको राजधानी भएको क्षेत्रमा जाने तयारीमा छन् । उनीहरूले गुराँस क्षेत्रलाई आफ्नो गन्तव्यस्थलका रूपमा रोजिरहँदा गुराँसका बुट्यान र फूलका थुङ्गाहरू पनि स्वागतका लागि आतुर जस्ता देखिन्छन् ।
गुराँसको राजधानीको रूपमा परिचित मिल्के, तीनजुरे, जलजले क्षेत्रमा ३२ प्रजातिका लालीगुराँस पाइन्छन् । वनस्पतिविद् कमल मादेन र चीनको साउथ चाइना एग्रिकल्चर युनिभर्सिटीमा वातावरण विज्ञानमा विद्यावारिधि गरेका दीपक खड्कासहितको समूहले दुई नयाँ प्रजाति पत्ता लगाएर ३२ पुर्याएका हुन् । यसअघि उक्त क्षेत्रमा ३० प्रजाति पाइन्थ्यो। मादेन र खड्कासहितको समूहले १२ दिनसम्म टीएमजे क्षेत्रमा अध्ययन गरेका थिए ।
तेहथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कदेखि मेन्छ्यायेम हुँदै ताप्लेजुङको फक्ताङलुङ र पाथीभरासम्म गुराँस पाइन्छ । फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला, घुन्सा, फले लगायतका क्षेत्र गुराँसले राताम्मे हुने गरेको छ । तीनजुरेदेखि फक्ताङलुङसम्मको क्षेत्रमा गुराँसको नयाँ प्रजाति भेटिएको वनस्पतिविद् मादेनले बताए । यो रुटले पहाडै पहाड़ कञ्चनजङ्घादेखि दार्चुला हुँदै हुम्लासम्मको बृहत् हिमालय पदमार्गलाई छोएको छ।
छिमेकी देश चीनको डिङजे काउन्टीमा रहेको तिब्बतको कोमोल्मा प्रकृति आरक्षण क्षेत्रलाई र टीएमजे क्षेत्र जोडिएको छ । रोयल वोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसका १ हजार ७३ प्रजाति छन्। लालीगुराँस सबैभन्दा अग्लो रूख हुने प्रजाति हो। यो प्रजाति नेपालसहित पाकिस्तान, भारत, श्रीलंका, भुटान, म्यान्मार, भियतनामसम्म छ । म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिण पूर्वी युनानमा प्रचुर मात्रामा पाइने गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।
वन तथा वातावरण मन्त्रालयले ०७५ मा जारी गरेको गुराँस संरक्षण कार्ययोजना अनुसार नेपालका ४३ जिल्लामा गुराँस पाइन्छ । सबैभन्दा ठूलो रूख हुने लालीगुराँस पूर्वी नेपालको ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेहथुम, संखुवासभा, सोलुखुम्बुदेखि लमजुङ, म्याग्दी, बागलुङ, रुकुम, डोल्पा, बझाङ, बाजुरा, दार्चुलासम्म पाइन्छ ।
डडेलधुरा, बैतडीलगायत जिल्लामा बढी मात्रामा पाइन्छ । यो प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेंलो रङको पनि हुने गरेको छ । गुराँसको एक प्रजाति रोडोडेन्ड्रन अबोरियम भने नेपालभर पाइन्छ। राष्ट्रिय फूलसमेत रहेको लालीगुराँससहितका प्रजातिको संरक्षणका लागि सरकारले बेलाबेला कार्ययोजना बनाएर काम पनि गर्ने गरेको छ ।
हिमाली र उच्च पहाडी क्षेत्रमा भने गुराँस बाहेकका वनस्पति कम भएकाले स्थानीयले दाउराका रूपमा उपयोग गर्ने गरेका छन् । जसका कारण यसको संरक्षण चुनौतीपूर्ण बन्ने गरेको सामुदायिक वनका अध्यक्ष ओझा बताउँछन् ।
गुराँसका दाउराको प्रयोग, कोइला बिक्री गर्ने, खुला चरिचरन, चोरी निकासी, वनमा सडक निर्माण, विद्युत्को हाइटेन्सन लाइन विस्तार जस्ता कारण गुराँसको राजधानी भनिएकै क्षेत्रका वन मासिँदै गएको संरक्षणविद्को गुनासो छ । बढ्दो वन अतिक्रमण र असन्तुलित तापक्रमका कारण पनि गुराँस संरक्षणमा चुनौती रहेको सामुदायिक वन उपभोक्ता महासंघका सचिव कमला लिम्बूले बताइन् । देशमा गुराँस मिश्रित वन क्षेत्र ६ लाख ९९ हजार ५ सय ९६ हेक्टर रहेको वन अनुसन्धान विभागको तथ्याङ्कमा उल्लेख छ ।
