नेपाल सरकारको बाँदर बन्ध्याकरण गर्ने पाइलटिङ कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको अनुगमन र अध्ययनका लागि ६ जनाको विज्ञ टोली आइतबार दिक्तेल आइपुगेको हो ।
खोटाङ — बाँदरको बन्ध्याकरणका लागि विज्ञ टोली दिक्तेल आइपुगेको छ । नेपाल सरकारको बाँदर बन्ध्याकरण गर्ने पाइलटिङ कार्यक्रम अन्तर्गत प्रारम्भिक चरणको अनुगमन र अध्ययनका लागि ६ जनाको विज्ञ टोली आइतबार दिक्तेल आइपुगेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव विकाश श्रेष्ठको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. लक्ष्मण खनाल, केन्द्रीय रिफरल पशु चिकित्सालयका वरिष्ठ पशुचिकित्सक डा. प्रवेश शर्मा लगायतको ६ जनाको टोली प्रारम्भिक चरणको स्थलगत अनुगमन र अध्ययनका लागि दिक्तेल आएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।
उनका अनुसार सोमबारदेखि कार्ययोजना बनाएर काम सुरु हुने छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ वर्षसम्म बादर नियन्त्रणका लागि अध्ययन गरी बादर बन्ध्याकरण तथा अन्य विधि खोजिने टोलीका संयोजक विकाश श्रेष्ठले बताए ।
बाँदर नियन्त्रण गर्नेबारे गत चैत ११ गते कृषि तथा पशुपन्छी मन्त्रालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागबीच संझौता भएको थियो । ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ वर्षसम्म गरिएको पाइलोटिङ अध्ययन अनुसन्धानपछि देशका अन्य ठाउँमा पनि बादर नियन्त्रणको कार्यक्रम बढाइन्छ’,श्रेष्ठले भने ।
बाँदर नियन्त्रण, बाँसजन्य वस्तुको प्रवद्धन लगायतका विभिन्न १६ बुँदे माग राख्दै नगरप्रमुख भट्टराई गत साउन ११ देखि १८ गतेसम्म माइतीघर मण्डलमा आमरण अनसन बसेका थिए । तत्कालीन वनमन्त्री ऐनबहादुर शाही र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग १६ विभिन्न बुँदे सहमतिपछि भट्टराईले अनसन तोडिएका थिए ।
