हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन गर्न कठिन भएकाले तत्काल 'मूल्य समायोजन मार्गदर्शिका–२' जारी गर्न र सबै अवधिका निर्माण आयोजनामा मूल्य समायोजनको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
What you should know
संखुवासभा — इन्धनजन्य तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण देशभरको निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले सरकारको ध्यानाकर्षण गराएको छ।
संघका महासचिव सुनिल श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा डिजेल, पेट्रोल, बिटुमिन, रड तथा सिमेन्टजस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धि र अभावले उद्योग नै धराशयी हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ। देशमा करिब २० देखि २५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको निर्माण क्षेत्र यस अवस्थाले प्रत्यक्ष प्रभावित भएको संघको भनाइ छ।
निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले यसअघि नै नेपाल सरकार र सम्बन्धित निकायलाई बारम्बार ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल हुन सकेको छैन।
विज्ञप्तिमा विशेष गरी मूल्य समायोजन प्रणालीप्रति असन्तुष्टि व्यक्त गरिएको छ। नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा निर्माण कार्यको मूल्य समायोजन हुने व्यवस्था भए पनि बजारमा सामग्रीको मूल्य अत्यधिक बढ्दा पनि सूचकांकमा घटेको देखिने प्रवृत्तिले व्यवसायीहरू थप मारमा परेको जनाइएको छ।
अहिले निर्माण कार्य तीव्र रूपमा सञ्चालन हुने समय भए पनि सामग्रीको अभाव र मूल्यवृद्धिका कारण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको संघले जनाएको छ।
यस्तो संकटपूर्ण अवस्थामा संघले निर्माण क्षेत्रलाई ‘आपतकालीन अवस्था’ घोषणा गरी व्यवसायीहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन गर्न कठिन भएकाले तत्काल 'मूल्य समायोजन मार्गदर्शिका–२' जारी गर्न र सबै अवधिका निर्माण आयोजनामा मूल्य समायोजनको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
