विराटनगरस्थित शिक्षादीप कलेजद्वारा आयोजित सम्मेलनको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले बिरुवामा पानी हालेर गरेका थिए ।
What you should know
विराटनगर — जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच युवापुस्ताले आफ्नो सोच, चिन्ता र समाधानका उपाय प्रस्तुत गरेका छन् । विराटनगरमा आइतबार आयोजित चौथो जलवायु सम्मेलन विद्यार्थीहरूका लागि पर्यावरण र जलवायु संकटबारे गहिरो चिन्तन गर्ने प्रभावकारी थलो बन्यो ।
विराटनगरस्थित शिक्षादीप कलेजद्वारा आयोजित सम्मेलनको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले बिरुवामा पानी हालेर गरेका थिए ।
सम्मेलनमा सहभागी कक्षा ११ का नौवटा समूहले जलवायु परिवर्तनका विविध आयाम– पर्यावरणीय संकट, जैविक विविधताको क्षय, दिगो विकासका उपायदेखि स्थानीय तहमा अपनाउन सकिने समाधानमाथि केन्द्रित भएर प्रस्तुतीकरण गरे । विद्यार्थीको प्रस्तुतिमा तथ्य, अनुसन्धान र नवीन सोचको संयोजन देखिएको थियो, जसले जलवायु बहसलाई अझ सशक्त बनाएको अनुभूति गरायो ।
मन्त्री पराजुलीले जलवायु परिवर्तनको असर नेपालले प्रत्यक्ष रूपमा भोगिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले युवामा चेतना अभिवृद्धि गर्नुका साथै नेतृत्व विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले शैक्षिक संस्थाहरूले ज्ञानमात्र होइन, जिम्मेवार नागरिक उत्पादनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवकुमार राई, सहप्राध्यापक कुलप्रसाद लिम्बू तथा वन तथा वातावरण मन्त्रालयका उपसचिव विक्रम अमात्यलगायतले जलवायु संकटको सामना गर्न नीति, शिक्षा र व्यावहारिक परिवर्तन अपरिहार्य रहेको औंल्याए ।
प्रतिस्पर्धात्मक प्रस्तुतीकरणतर्फ ‘थोरियम समूह’ उत्कृष्ट ठहरिँदै प्रथम भयो । त्रिभुवन विश्वविद्यालयका प्रा.डा. शिवकुमार राई, सहप्राध्यापक कुलप्रसाद लिम्बूको निर्णायक टोलीले उक्त समूहलाई प्रथम घोषणा गरेको थियो । उनीहरूले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै उत्कृष्ट कन्टेन्ट मेकरका रूपमा प्लुटोनियम समूह छानियो भने उत्कृष्ट प्रस्तोताका रूपमा केशव झा विजयी भए ।
