प्राकृतिक सौन्दर्यले भरिपूर्ण रौता पोखरीको पर्यटन प्रर्वद्धन र प्रचारप्रसारका लागि आइतबारबाट प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव सुरु भएको हो ।
उदयपुर — उदयपुरको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रौता पोखरीमा पाँचदिने पर्यटन महोत्सव सुरु भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रौता पोखरीको पर्यटन प्रर्वद्धन र प्रचारप्रसारका लागि आइतबारबाट प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव सुरु भएको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धन र विकासका लागि कोशी सरकार सदैव तयार रहेको बताउँदै रौता पोखरीको सौन्दर्य, इतिहास, धार्मिक तथा सांस्कृतिक महत्त्व विश्वसामु पुर्याउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए ।
चैत २९ देखि वैशाख ३ गतेसम्म संचालन हुने महोत्सवमा प्याराग्लाइडिङ प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकसंस्कृति झल्काउने कार्यक्रम, स्थानीय परिकारको प्रदर्शनी तथा बिक्री, बिभिन्न जातिको झाँकी प्रदर्शनी लगायतको कार्यक्रम रहेको आयोजकले बताए ।
यस्तै, धार्मिक पर्यटकहरुको आकर्षणका लागि भजन–कीर्तन, धार्मिक अनुष्ठान, मेला तथा पूजाआराधनाका कार्यक्रमको समेत आयोजना गरिएको महोत्सव संचालन समितिका संयोजक दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेला अवलोकनकर्ताहरूले स्थानीय उत्पादन, हस्तकला र परम्परागत खानाको स्वादसमेत लिन पाउनेछन् ।
रौतामाई गाउँपालिका–६ मा अवस्थित रौता पोखरी समुद्री सतहबाट १ हजार ७ सय मिटर उचाइमा रहेको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी सदरमुकाम गाईघाटबाट करिब २० किलोमिटर उत्तरमा छ ।
