फाल्गुनन्दमा पाँच शय्याको अस्पताल

संघीय सरकारको नीतिअनुसार २०७७ मंसिर १५ गते सातै प्रदेशमा एकैपटक शिलान्यास भएका ३ सय ९६ आधारभूत अस्पतालमध्ये फाल्गुनन्दको अस्पताल पनि एक हो ।

चैत्र २९, २०८२

लक्ष्मी गौतम

Five-bed hospital in Falgunanda

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिकमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । फाल्गुनन्द–५ फाक्तेपमा निर्माण सम्पन्न भएको पालिकास्तरीय उक्त अस्पतालले शनिबारदेखि सेवा दिन थालेको हो ।

ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त अस्पताल भवन उद्घाटन गर्नुपूर्व नै सेवा सुचारु गरिएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वेले जानकारी दिए ।

संघीय सरकारको नीतिअनुसार २०७७ मंसिर १५ गते सातै प्रदेशमा एकैपटक शिलान्यास भएका ३ सय ९६ आधारभूत अस्पतालमध्ये फाल्गुनन्दको अस्पताल पनि एक हो । घुर्बिसे पञ्चमी नजिकै स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा डेढ तलाको अस्पताल भवन निर्माण गरिएको हो । 

जयमाता जीआरडी जेभी, काठमाडौंले ६ करोड ४६ लाख ३२ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको उक्त भवन सम्झौताअनुसार १८ महिनाभित्र सक्ने लक्ष्य रहे पनि विभिन्न कारणले केही ढिलाइ भएको थियो । 

अस्पतालमा इमर्जेन्सी, प्रसूति सेवा, अपरेसन थिएटर, एक्स–रे, ईसीजी, यूएसजी, फार्मेसी, प्रयोगशाला, माइनर अपरेसन, पार्किङ, सेप्टिक ट्याङ्क तथा सोकपिटलगायतका पूर्वाधार व्यवस्था गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोका अनुसार अस्पतालमा एक जना मेडिकल अधिकृतसहित १८ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनएचसीसीपीमार्फत निरीक्षण तथा अनुगमन गरिएको र गाउँपालिकाले निर्माण तथा प्राविधिक पक्षको नियमित निगरानी गरेको जनाइएको छ । हाल अस्पतालबाट आयुर्वेद सेवासहित एकीकृत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully