साहित्यिक तथा पर्यटन महोत्सव जेठ पहिलो साता

साहित्य महोत्सवमा साहित्य क्षेत्रमा ख्याति कमाएका राष्ट्रियस्तरका साहित्यकार सहभागी हुने छन् । महोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पाँच जनालाई सम्मान गरिने समेत आयोजकले जनाएका छन् ।

चैत्र २८, २०८२

डम्बरसिं राई

Literary and Tourism Festival, first week of Jestha

खोटाङ — तेस्रो बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा नेपाल कराँते महासंघ खोटाङको व्यवस्थापनमा आगामी जेठ ३ देखि ९ गतेसम्म दिक्तेलमा उक्त महोत्सव हुने भएको हो । 

महोत्सवमा एथ्लेटिक्स, बुद्धिचाल र खुला राष्टि्रय साहित्य महोत्सव गरिने शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 

एथलेटिक्समा ११ स्वर्ण, ११ रजत, ११ कास्य, बुद्धिचालमा ४ स्वर्ण, ४ रजत र २ कास्य पदकका लागि प्रतियोगिता हुने आयोजकले बताए । यसअन्तर्गत १० वर्षमुनिको छात्र–छात्रा एक माइल दौड, १२ वर्षमुनिको छात्रछात्रा ३ किलोमिटर दौड, १२ देखि १५ वर्षमुनिको छात्रछात्रा ७ किलोमिटर दौड, १५ वर्षमाथिको खुला पुरुष महिला १० किलोमिटर दौड, आमाहरूको ५ किलोमिटर दौड, ३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको ७ किलोमिटर दौड, ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । 

त्यस्तै खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, खुला राष्ट्रिय साहित्य महोत्सव लगायत आयोजना गरिने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सन्जयकुमार राईले बताए । 

एथ्लेटिक्सअन्तर्गतका खेल जेठ ३ गते, बुद्धिचाल जेठ ६ गते र खुला राष्टि्रय साहित्य महोत्सव जेठ ९ गते हुने आयोजकले जनाएका छन् । साहित्य महोत्सवमा साहित्य क्षेत्रमा ख्याति कमाएका राष्ट्रियस्तरका साहित्यकार सहभागी हुने छन् । महोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पाँच जनालाई सम्मान गरिने समेत आयोजकले जनाएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully