हिउँदभर नपरेको हिउँ चैत लागेपछि पटक पटक पर्दा वातावरण रमणीय बनेको छ । निरन्तर हिउँ परिरहँदा पर्यटक आगमनमा पनि बृद्धि भएको छ ।
What you should know
पाँचथर — ताप्लेजुङ र पाँचथर सीमावर्ती तिम्बुङ पोखरी क्षेत्र हिउँले छोपेको छ । हिउँदभर नपरेको हिउँ चैत लागेपछि पटक पटक पर्दा यहाँको वातावरण निकै रमणीय बनेको छ । निरन्तर हिउँ परिरहँदा यहाँ पर्यटक आगमनमा पनि बृद्धि भएको छ ।
समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित यस क्षेत्र जाने मुख्य सिजन जेठदेखि कात्तिकसम्म हो । यद्यपि यो वर्ष यहाँ ‘अफ सिजन’मा पनि पर्यटकको आगमन जारी रहेको स्थानीय बताउँछन् ।
तिम्बुङ पोखरीसहित पाँचथर र ताप्लेजुङका सीमावर्ती उच्च पहाडी र हिमाली क्षेत्रमा निरन्तर हिउँ परिरहेको यहाँका पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए । हिउँ हेर्न र खेल्न यो साता मात्रै काठमाडौं र पोखरासम्मका पर्यटक यहाँ आइपुगेको उनले बताए ।
उनका अनुसार पछिल्लो समय यस क्षेत्रमा ‘अफ सिजन’मा पनि पर्यटक आइपुग्न थालेका हुन् । ‘यहाँ घुम्न आउने खास सिजन जेठदेखि कात्तिकसम्म मात्रै हो, पहिले पहिले अफ सिजनमा यहाँ पर्यटक शून्य हुन्थे, पछिल्ला वर्षदेखि अफ सिजनमा पनि आउन थालेका छन्,’ उनले भने ।
मनोरम वातावरण, डाँडा थुम्का ढाक्ने हिउँ अनि बाटोमा रहेको गुराँसको जंगल हेर्न र यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन पर्यटक आइपुग्ने गरेको राईले बताए । यो वर्ष मात्रै ताप्लेजुङको बाटो भएर ५ हजार बढी पर्यटक यहाँ आइपुगेको तथ्यांक छ । तिम्बुङ पोखरी क्षेत्रसम्म पुग्न पााचथर र ताप्लेजुङ भएर जाने पर्यटकलाई सवारी साधनको पहुँच भएका स्थानदेखि कम्तीमा २ दिन पैदल हिँड्नु पर्छ ।
यस क्षेत्रमा भारतको पश्चिम बंगाल र सिक्किमसँगै नेपालका विभिन्न स्थानबाट आन्तरिक र बाहृय पर्यटक आइपुग्छन् । यस क्षेत्रमा पाइने जडीबुटी र डाँफेलगायतले पर्यटकको ध्यान आकर्षित हुने गरेको छ ।
तिम्बुङ पोखरी जस्तै इलाम–पाँचथरको सिमावर्ती सन्दकपुरसहित नेपाल भारतको सिमावर्ती फालौट, चारराते र चिवा भञ्ज्याङ क्षेत्रमा पनि चैत लागेपछि पटक पटक हिउँ परेको छ । ‘हिउँदभर नपरेको हिउँ चैत लागेपछि देखियो, एकपटक होइन पटक पटक परिरहेको छ, गर्मी लाग्ने बेलासम्म ज्याकेट छोड्नु परेको छैन,’ फालेलुङ–४ का श्याम लिम्बूले भने ।
