कोशी प्रदेशभरी चालु वर्षको फागुनसम्म ४ हजार २ सय ९० सवारी दुर्घटनामा ३ सय ८ जनाको मृत्यु भएको छ ।
What you should know
सुनसरी — कोशी प्रदेशमा दुर्घटना बढेको बढ्यै छन् । तीन आर्थिक वर्षको तथ्यांक अनुसार दुर्घटनामा बृद्धि भएको पाइएको हो । दुर्घटनासँगै मानवीय क्षति पनि बढेको छ । दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला बीच समन्वय नहुँदा थप चुनौती बनेको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ४ सय ६३ दुर्घटना भएका थिए । तिनमा ३ सय ७१ जनाको ज्यान भएको थियो भने २ सय ५८ जना गम्भीर र ५ हजार ७ सय ५० जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार ६ सय २६ दुर्घटना भए । ती दुर्घटनामा परेर ४ सय ५२ जनाको मृत्यु भएको थियो भने ३ सय ७१ गम्भीर र ५ हजार ८ सय ३० सामान्य घाइते भएका थिए ।
चालु वर्षको फागुनसम्म ४ हजार २ सय ९० दुर्घटना भइसकेका छन् । यस अवधिमा ३ सय ८ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा ४ सय ७५ गम्भीर र ६ हजार ४ सय ५५ सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।
यस अवधिमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि कार, बस, ट्रक/ट्यांकर, जीप तथा माइक्रोबस रहेका छन् । सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी आयोजना तथा स्थानीय तहबीच समन्वय नहुँदा सडक पूर्वाधार जोखिमपूर्ण बन्दै गएका छन् ।
यातायत व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार दुई पांग्रे सवारीसाधन धेरै दुर्घटना हुने गरेका छन् । अहिलेसम्म दुर्घटनाको दोष जति यातायात व्यवसायीमाथि थुपार्ने र नियन्त्रणका लागि सरकारी तवरबाट प्रभावकारी काम हुन नसकेको श्रेष्ठको भनाई छ ।
दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका नियम कार्यान्वयन हुन सकेका छैनन् । ट्राफिक प्रहरीले पनि जनशक्ति र बजेट अभाव झेल्दै आएको छ । जसले गर्दा दुर्घटना नियन्त्रणमा चुनौती थपिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले बताए । ‘ट्राफिक प्रहरीले नियमित जााच, सचेतना अभियान र कडाइका साथ कारबाही गरिरहेको छ,’ उनले भने, ‘दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाबीच समन्वय, पूर्वाधार सुधार र नियमको कडाइका साथ पालना अपरिहार्य देखिएको गिरीको भनाई छ । गिरी भन्छन्, ‘सडक सुरक्षा बहुपक्षीय विषय भएकाले सबै निकायको समान जिम्मेवारी आवश्यक छ ।’
कार्यालयले सडक व्यवस्थापनका लागि भन्दै एकपछि अर्को नियम लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन। कोशी प्रदेशमा ट्राफिक प्रहरीको नियमलाई सरोकारवाला अन्य निकायले असहयोग गरेपछि सडक व्यवस्थापन अस्तव्यस्त हुनका साथै यात्रुले सास्ती खेप्नुपरेको छ ।
कार्यालयले ६ वर्षअघि पूर्वका १४ जिल्लामा सवारीसाधनले अत्याआवश्यकबाहेक हर्न बजाउन नपाइने निर्णय गरेको थियो । त्यसपछि प्रदेशका १४ जिल्लालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन एक वर्षसम्म अभियान चलाइयो। त्यसको एक वर्षपछि मुख्य राजमार्गमा इ रिक्सा चालनउ रोक लगाउने निर्णय पनि गरियो । तर ती निर्णय अझै व्यवहारमा कार्यान्वयन भएका छैनन् ।
सडकमा टिपर आतंक बढेको भन्दै आन्दोलन भएपछि प्रहरीले बिहान ९ देखि ११ र दिउासो ३ बजेदेखि ५ बजेसम्म कोशी प्रदेशका मुख्य राजमार्गमा टिपर चलाउन रोक लगायो । त्यसको पनि कडाइका साथ पालना भने गराइएन । दुर्घटना बढेको भन्दै दुई वर्षदेखि झापा, मोरङ, सुनसरी र उदयपुरमा पुनः टाइमकार्ड लागू गरिएको छ ।
ट्राफिक प्रहरीले एकपछि अर्को नियम बनाउँदै जाने तर सडक ब्यवस्थापनमा सरोकार राख्ने सडक, यातायात व्यवस्था, विद्युत प्राधिकरणलगायत पक्षहरुको समन्वय प्रभावकारी नहुँदा सडकमा अस्तव्यस्तता समेत हट्न नसकेको इटहरी उपमहानगरका प्रवक्ता दिवश पोखरेल बताउँछन् ।
