हात्तीको डरबीच झापाको बाहुनडाँगीमा महिलाहरूले सामुदायिक होमस्टे सञ्चालन गर्दै आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको नयाँ बाटो खोलिरहेका छन्।
What you should know
बाहुनडाँगी, झापा — पूर्वोत्तर झापाको बाहुनडाँगी गाउँमा अझै पनि जंगली हात्तीको त्रास उस्तै छ । साँझ परेपछि मेची तरेर गाउँ पस्ने हात्तीको हुल बितण्डा मच्चाएर फर्किन्छ । यहीँ पीडाबीच, हात्ती प्रभावित परिवारका महिलाहरूले ‘हात्ती मैत्री सामुदायिक होमस्टे’ सुरु गरेर पीडा भुल्ने प्रयास गरिरहेका छन् । यो उद्यमले उनीहरुलाई आयआर्जनको सम्भावनाको ढोका मात्रै खोलेको छैन, सिंगो गाउँलाई नै फरक पहिचान दिलाएको छ ।
चार वर्षअघि सुरु गरिएको होमस्टे अहिले गाउँका महिलाहरूको साझा पहल र मिहनेतको प्रतीक बनेको छ । गीता प्रधान, उमा राउत, उमा प्रधान, पारु प्रधान, रुपा प्रधान, पवित्रा प्रधान, शान्ति प्रधान, अनु कार्की, राधा नेपाललगायतका महिलाहरू यो अभियानमा जोडिएका छन् ।
होमस्टे सञ्चालनको तरिका पनि निकै रोचक छ । पाहुना धेरै भए सबै मिलेर सामूहिक रूपमा खाना पकाएर खुवाइन्छ भने पाहुना कम हुँदा घरलौरी बाँडेर आतिथ्य सत्कार गरिन्छ । ‘पर्यटकको सेवा गर्न हामी सधैं तत्पर छौं,’ उमा प्रधान भन्छिन् ।
होमस्टेमा अहिलेसम्म ६०–७० जनासम्मको समूहलाई सहजै व्यवस्थापन गरिसकेका उनीहरू आवश्यक परे ३ सय जनासम्मलाई पनि खाना पकाएर खुवाउन सक्ने क्षमता भएको बताउँछन् । पाहुनालाई आफ्नै घरमा राख्ने, सुताउने र स्थानीय परिकार खुवाउने उनीहरूको विशेषता हो । ‘हामी आफैंले जे खान्छौं, पाहुनालाई त्यही खुवाउँछौं,’ पवित्रा प्रधान भन्छिन्,‘जस्तोमा सुत्छौं त्यस्तैमा सुताउँछौ ।’
सामुदायिक होमस्टेले संयुक्त रुपमा गरेको आम्दानीको हिसाब पनि पारदर्शी हुन्छ । खर्च कटाएर बाँकी रकम सबैले दामासाही रूपमा बाँड्ने गर्छन् । घरपरिवारको सहयोगले काम अझ सहज बनेको उनीहरूको अनुभव छ। उनीहरुले विभिन्न संघसंस्थाबाट होमस्टे संचालनको प्रशिक्षण लिएका छन् । खाना पकाउने तरिकादेखि ‘हस्पिटालिटी’सम्मको ज्ञान उनीहरुसँग छ । ‘मिठो मुस्कान र मिठो खाना पस्किन हामी तयार छौं,’ पारु प्रधान भन्छिन्,‘पर्यटकको सेवा र सत्कार नै हाम्रो पहिचान हो ।’
होमस्टेमा जोडिएकी महिला उमा राउतको कथा अझ प्रेरणादायी छ । डेढ वर्षको काखे शिशुलाई घरमा छाडेर कुनै समय विदेशिएकी उनी अहिले स्वदेशमै आत्मनिर्भर भएकी छन् । सन् २००५ मा काम गर्न घरबाहिर गएकी उनले पहिलो पटक साउदी अरबमा दुई वर्ष बिताइन् । त्यहाँबाट फर्किएर दुबई उडिन् । त्यहाँ १३ वर्ष बिताएपछि पुनः कुवेत गइन् । त्यहाँको दुई वर्षे बसाइँ बिट मारेर उनी चार वर्षअघि घर फर्किइन् ।
विदेशमा बिताएका वर्षले उनलाई आर्थिक रूपमा थोरै सशक्त त बनायो, तर परिवारसँगको दूरीले पीडा पनि दियो । अन्ततः स्वदेश फर्किएपछि उनले गाउँमै केही गर्ने अठोट गरिन् । त्यसैको नतिजा हो, सामुदायिक होमस्टे । ‘विदेशमा १७ वर्ष बिताएँ, अब गाउँमै बसेर बाँकी जीवन बिताउने,’ उनी भन्छिन् ।
हात्ती त्रासले चिनिएको बाहुनडाँगी गाउँ अहिले ‘हात्ती मैत्री’ अवधारणामार्फत पर्यटक आकर्षित गर्ने प्रयासमा छ। स्थानीय महिलाले आफ्ना संस्कृति, परिकार र आतिथ्यलाई पर्यटनसँग जोडेर आम्दानीको बाटो पहिल्याएका छन् । ‘यो पहलले आर्थिक पक्ष मात्र सुदृढ गरेको छैन, महिलालाई आत्मनिर्भर र आत्मविश्वासी पनि बनाएको छ,’ मेचीनगर–४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीले भने,‘आज दिदीबहिनीहरु गृहिणीका रुपमा मात्रै सीमित छैनन्, सफल उद्यमी पनि बन्दै गएका छन् ।’
