आठराई त्रिवेणीले आइतबार बिदा नदिने, बिहान १० बजे कार्यालय खोल्ने

संघीय सरकारको निर्णय व्यवहारिक नदेखिएपछि बुधबार कार्यपालिका बैठकबाट पुरानै समयमा कार्यालय स‌ंचालन गर्ने निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले बताए ।

चैत्र २६, २०८२

आनन्द गौतम

Aathrai Triveni will not give Sunday off, office will open at 10 am

What you should know

ताप्लेजुङ — संघीय सरकारले यसै सातादेखि लागू हुनेगरी सातामा दुई दिन शनिबार र आइतबार कार्यालय तथा विद्यालयमा बिदा दिने निर्णय गरेको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय स‌ंचालन गर्ने र त्यसको बदला सातामा दुई दिन बिदा गर्ने निर्णय गरेको हो ।

तर, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले भने संघीय सरकारको यो निर्णय नमान्ने भएको छ । बुधबार बसेको गाउँपालिकाको ६० औं कार्यपालिका बैठकले बिहान १० बजे मात्रै कार्यालय खोल्ने र आइतबार पनि बिदा नगर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिए । 

उनले भने, ‘संघीय सरकारले गरेको यो निर्णय व्यवहारिक भएन । हाम्रोमा निगुरादिन, चाँगेदेखिको सेवाग्राही खाना खाएर आउँदा बल्ल ११/१२ बजेतिर आइपुग्छन्, कर्मचारीले पनि दुई घण्टा हिँडेर आउनुपर्छ ।'

सरकारको निर्णय व्यवहारिक नदेखिएपछि बुधबार कार्यपालिका बैठकबाटै पुरानै समयमा कार्यालय स‌ंचालन गर्ने निर्णय गरिएकाे उनले बताए । पोमुले सबै जनप्रतिनिधि तथा कर्मचारीलगायतका सरोकालावाला पक्षसँग छलफल गरेर निर्णय गरिएको बताए ।

अध्यक्ष पोमुले फेसबुकबाट पनि लेखेका छन्, ‘आठराई त्रिवेणी गाउँपालिका शनिबार र आइतबार बिदा नहुने  शनिवार मात्र बिदा हुने । कार्यालय १०-५ नै लाग्ने । बरु बिदाको दिन पनि काम परे थप इन्सेन्टिभको व्यवस्था गरेर कार्यालयहरू सञ्चालन गर्ने ।’

तर कार्यपालिकाको निर्णय अनुसारको सूचना पालिकाको वेबसाइटमा भने राखिएको छैन । अध्यक्ष पोमुले आर्थिक वर्षको मुख्य काम गर्ने समय भएकाले पनि स‌ंघीय सरकारकाे कार्यालय समय परिवर्तनको निर्णय लागु गर्न नसकिने बताए । ‘अभ्यास गरेर हेर्दा पनि कुनै हालतले ठिक देखिएन,’ उनले भने । बुधबारसम्म भने बिहान ९ बजेनै कार्यालय संचालन गरेर हेरेको पनि उनले बताए । 

पोमुले विद्यालयमा पनि शनिबार मात्रै बिदा हुने उल्लेख गरेका छन् । ‘पाठ्यक्रम विकास केन्द्रले २२० दिनको कोर्ष डिजाइन गरेको छ । पढाइ हुने दिन भने १ सय ९० दिन मात्रै हुन्छ,’ उनले भने, ‘संघीय सरकारले अहिले गरेको निर्णय अनुसार हो भने त स्थानीयस्तरमा हुने सबै खालका बिदा र परीक्षासमेतको समय कटाएर ८६ दिनमात्रै पढाइ हुने देखिन्छ । अनि हाम्रो शिक्षा कतातिर जान्छ ? त्यसैले हामीले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सकेनौ‌ं ।’

पोमुले सरकारले निर्णय गर्दैगर्दा पनि चैत २३ मै विरोध जनाएका थिए । उनले लेखेका थिए, ‘भन्दा विरोध होला । तयारी विनाको हप्तामा दुई दिने बिदा फलदायी छैन र कार्यान्वयन कठिन छ । योबेला काम गर्ने बेला हो । कि आर्थिक वर्ष परिवर्तन गर्नुहोस् अनि शिक्षाको पनि पाठ्यक्रम परिवर्तन गर्नुहोस् नत्र कठिन छ ।’ 

पोमु नेकपा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पनि हुन् । यो गाउँपालिकामा एमालेबाट निर्वाचित      जनप्रतिनिधिको कार्यपालिकामा पनि एकल बहुमत रहेको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully