चैत २६ देखि ‘कोशीमा बिहार उत्सव’

कोशी करिडोर क्षेत्रमा सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिने कार्यक्रम संयोजक नारायण लिम्बूले जानकारी दिए।

चैत्र २४, २०८२

एलिना राई

'Bihar Festival in Koshi' from Chaitra 26

What you should know

धरान — चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो ।

उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

'पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय' भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए ।

प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार वर्षका रूपमा अघि बढाइएको उनले बताए ।

उत्सवमा विशेष गरी भारतको बिहार राज्यबाट आउने पर्यटकलाई लक्षित गरिएको छ। कोशी करिडोर क्षेत्रमा सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिने लिम्बूले जानकारी दिए।

उत्सवमार्फत बिहारका पर्यटकहरूलाई यहाँको संस्कृति, खानपान र स्थानीय जीवनशैलीसँग परिचित गराउने लक्ष्य राखिएको छ । साथै, सीमापारि तथा स्थानीय उद्योगी–व्यवसायीबीच व्यापार तथा लगानीका सम्भावनाबारे छलफल र सहकार्य बढ्ने विश्वास आयोजकले लिएका छन्।

कार्यक्रममा बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार तथा विद्यालय सञ्चालकहरूको सहभागिता रहनेछ। दुई देशका कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कला कार्यशाला, पर्यटन प्रवर्द्धन कार्यक्रम तथा विविध खानाका परिकारका स्टल उत्सवका मुख्य आकर्षण रहने जनाइएको छ। उत्सव धरानमा केन्द्रित भए पनि यसको उद्देश्य समग्र कोशी करिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकको भनाइ छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully