एक वर्षमा ताप्लेजुङ अस्पतालमा ४ सय जनाको शल्यक्रिया

२०८१ फागुनमा शल्यचिकित्सक प्रनाम जयरु आएदेखि जटिल प्रकारका शल्यक्रिया गर्न थालिएको अस्पतालले जनाएको छ ।

चैत्र २४, २०८२

आनन्द गौतम

400 surgeries performed at Taplejung Hospital in a year

What you should know

ताप्लेजुङ — जिल्ला अस्पताल ताप्लेजुङमा एक वर्षमा करिब चार सय जनाको शल्यक्रिया गरिएको छ । यस अवधिमा उपचारका लागि आएका व्यक्तिको सामान्यदेखि जटिल शल्यक्रिया गरिएको छ । पहिले गर्भवतीको मात्र शल्यक्रिया हुँदै आएको थियो । २०८१ फागुनमा सर्जन चिकित्सक प्रनाम जयरु आएदेखि जटिल प्रकारका शल्यक्रिया गर्न थालिएको अस्पतालले जनाएको छ । 

जिल्ला अस्पतालका अनुसार एक वर्षमा ३ सय ९३ जनाको शल्यक्रिया गरिएको छ । जसमा मेजर १ सय ६५, मध्यमखालका १ सय १८ र सामान्य १ सय १० जनाको शल्यक्रिया भएको छ । मेजर अपरेसनमा एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, मल्टिपल इन्जुरीलगायत हुन्छन् । यसअघि यस्ता शल्यक्रिया गर्न यहाँबाट झापा, मोरङ, सुनसरीलगायत तराईका जिल्ला जानुपर्ने बाध्यता थियो । कतिपय सरसापट गरेर भए पनि संघीय राजधानी काठमाडौं पुग्ने गरेका थिए ।

अस्पतालमा मेजर अपरेसनका लागि बिरामीको अवस्था हेरी १० हजार देखि २० हजार रुपैयाँसम्म खर्च लाग्छ । यीबाहेक आर्थिक अवस्था सामान्य भएका, तत्काल शल्यक्रिया गर्नैपर्ने तर शुल्क तिर्न नसक्ने २० जनाको पनि नि:शुल्क शल्यक्रिया गरिएको अस्पतालका प्रमुख चिकित्सक जयरुले जानकारी दिए । उनका अनुसार नि:शुल्क शल्यक्रिया गरिएका व्यक्तिको संख्या ३ सय ९३ भन्दा बाहिरको हो । 

शल्यक्रिया गर्ने कुरा सुन्नेबित्तिकै सर्वसाधरण आत्तिने, घरका धेरैजना बिरामी लिएर जाने र बिरामी रुँगेर बस्नुपर्दा ठूलो धनराशि खर्च हुने गरेको फुङलिङ नगरपालिका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले बताए । ‘कतिपयले शल्यक्रियामा जानका लागि गाई गोरु, भैंसी नै बिक्री गर्ने गरेको पीडादायी अवस्था छ,’उनले भने, ‘जिल्ला अस्पतालमै शल्यक्रिया सेवा पाउँदा धेरैलाई राहत भएको छ ।’

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully