संस्थागत विद्यालयहरुले मासिक शुल्कमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरिएको अभिभावकबाट गुनासो बढेपछि उपमहानगरपालिकाले चासो देखाएको हो ।
What you should know
सुनसरी — इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ का लागि मनपरी रूपमा शुल्क वृद्धि गरेको पाइएको छ ।
मासिक शुल्कमा १० देखि २५ प्रतिशतसम्म वृद्धि गरिएको भन्दै अभिभावकबाट गुनासो बढेपछि उपमहानगरपालिकाले चासो देखाएको हो । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी गरिएको पत्र अनुसार केही संस्थागत विद्यालयले प्रचलित कानुन विपरीत विद्यार्थी भर्ना प्रक्रियामा विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लिने, अभिभावकलाई आर्थिक भार पार्ने, विद्यालयकै नाममा स्टेशनरी सामग्री खरिद गर्न बाध्य पार्ने तथा पाठ्यपुस्तक वितरण प्रणाली परिवर्तन गरी अनावश्यक खर्च बढाएको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।
विद्यालयहरुले पूरै पाठ्यपुस्तकमा एउटा पाठ परिवर्तन गरेर नयाँ किन्न लगाउने गरेको पाइएको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित विद्यालयहरूलाई उपमहानगरले निर्देशन दिइएको छ । आगामी दिनमा यस्ता कार्य दोहोरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रमेशकुमार शाहले सबै संस्थागत विद्यालयलाई नियम पालना गर्न र अभिभावकमाथि अनावश्यक आर्थिक भार नपार्न आग्रह गरिएको जनाएका छन् ।
शुल्क वृद्धिका कारण अभिभावकहरू भने चिन्तित बनेका छन् । महंगी बढिरहेका बेला विद्यालय शुल्कमा समेत वृद्धि हुँदा दैनिक आयआर्जनमा निर्भर परिवार थप समस्यामा परेको गुनासो गरिरहेका छन् ।
अभिभावकहरूले स्थानीय सरकारले प्रभावकारी अनुगमन गरी शुल्क नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । यस विषयमा इटहरी उपमहानगरपालिकाले अब अनुगमन कडाइ गर्ने बताउँदै शिक्षा क्षेत्रमा पारदर्शिता र नियमको पालना गराउन सक्रिय हुने जनाएको छ ।
